२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रास्वपाको सदस्य संख्या ५ लाख २३...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

सहर्ष न्युज
मंगलवार, आषाढ ९ २०८३
सहर्ष न्युज
मंगलवार, आषाढ ९ २०८३
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध सदस्यहरूको संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमार्फत उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।

    प्रतिवेदनअनुसार रास्वपामा पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिला सदस्य ८९ हजार ८९६ रहेका छन्। यस्तै अन्य लैंगिक समूहका ५८८ सदस्य रहेका छन् भने ३६ हजार १९२ जनाले आफ्नो लैंगिक विवरण खुलाएका छैनन्।

    सदस्यताको अनुपात हेर्दा पुरुष सदस्य ७५.८ प्रतिशत रहेका छन् भने महिला सदस्यको हिस्सा १७.२ प्रतिशत छ। अन्य लैंगिक समूहका सदस्य ०.१ प्रतिशत र विवरण नखुलाउने सदस्य ६.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    गत प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको थियो। पार्टीले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिँदै सदस्य संख्या उल्लेख्य रूपमा बढाएको जनाएको छ।

    महाधिवेशनमा विभिन्न सांगठनिक तथा नीतिगत प्रतिवेदनमाथि छलफल र प्रस्तुति सम्पन्न भइसकेपछि अब नेतृत्व चयनको प्रक्रिया सुरु हुने भएको छ। महाधिवेशनमार्फत पार्टी सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ।

    निर्वाचन प्रणालीअनुसार सातै प्रदेशबाट अनिवार्य रूपमा पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा दुई जना महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ भने बाँकी ६४ पदका लागि खुला प्रतिस्पर्धा हुने पार्टीले जनाएको छ।

    पार्टीको नयाँ नेतृत्व चयनसँगै केन्द्रीय सभापति र ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ। त्यसपछि दोस्रो चरणमा अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

    रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend