इटहरी । उद्योगी–व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि नवराज काफ्ले र गायत्री कट्वाल भण्डारीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। असार ११ गते मनोनयन दर्ता कार्यक्रम तय भएकाले दुवै पक्ष यतिबेला आफ्नो चुनावी टोलीलाई अन्तिम रूप दिन व्यस्त छन्।
सुरुवाती चरणमा अध्यक्ष पदमा नवराज काफ्ले, गायत्री कट्वाल भण्डारी र बलबहादुर न्यौपानेबीच प्रतिस्पर्धा हुने चर्चा थियो। तर न्यौपाने समूह काफ्ले पक्षसँग सहकार्यमा जाने भएपछि निर्वाचन दुई पक्षीय हुने लगभग निश्चित भएको छ।
दुवै समूहले आफ्नो प्यानल औपचारिक रूपमा सार्वजनिक नगरे पनि काफ्ले पक्षबाट अघिल्लो कार्यसमितिमा रहेका अधिकांश पदाधिकारी तथा सदस्यहरू दोहोरिने सम्भावना रहेको बताइन्छ। यता भण्डारी पक्ष भने चुनावी प्रभाव पार्न सक्ने उम्मेदवार छनोटमा केन्द्रित रहेको स्रोतको दाबी छ।
निर्वाचनको सरगर्मी बढ्दै जाँदा काफ्ले समूहलाई नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको समर्थन रहेको बताइन्छ। यद्यपि विगतका निर्वाचनझैँ कुनै पनि राजनीतिक दलले औपचारिक निर्णय भने सार्वजनिक गरेका छैनन्।
भण्डारी समूहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूको साथ रहेको जनाइएको छ। अघिल्लो निर्वाचनमा भने नेपाली कांग्रेसले गायत्री कट्वाल भण्डारीलाई आधिकारिक उम्मेदवारका रूपमा समर्थन गरेको थियो भने एमालेले रञ्जु सिग्देललाई उम्मेदवार बनाएको थियो। तर त्यसबेला कांग्रेसकै जीवन पराजुली विजयी भएका थिए।
अध्यक्षका प्रत्याशी नवराज काफ्लेले उद्योगी–व्यवसायीको हित र अधिकारका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको बताए। उद्योग वाणिज्य संघ इटहरीलाई सबै व्यवसायीहरूको साझा र सशक्त संस्थाका रूपमा विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ छ।
यता गायत्री कट्वाल भण्डारीले उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यका साथ चुनावी अभियान अघि बढाएको बताइन्। उनले समावेशी नेतृत्व, अनुभव, ऊर्जा र स्पष्ट भिजनमार्फत संस्थाको विकासमा नयाँ अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काफ्ले यसअघि उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदमा दुई कार्यकाल काम गरिसकेका छन्। भण्डारी एक कार्यकाल सदस्य र एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।
मतदाता संख्याको दृष्टिले पनि यसपटकको निर्वाचन रोचक हुने देखिएको छ। अघिल्लो निर्वाचनमा करिब ६ हजार ५ सय व्यवसायी मतदाता रहेकामा यसपटक २ हजार ३ सय ६५ जनाले मात्र सदस्यता नवीकरण गरेका छन्।
निर्वाचन विश्लेषकहरूका अनुसार इटहरीका वडा नम्बर ४, ६ र ९ अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका करिब एक हजार मतदाता यसपटक निर्णायक बन्न सक्छन्। यही कारण दुवै पक्षले बजार क्षेत्रका व्यवसायीलाई आफ्नो पक्षमा आकर्षित गर्ने रणनीति तीव्र बनाएका छन्।
निर्वाचन नजिकिँदै जाँदा उद्योगी–व्यवसायीमाझ नेतृत्व चयनको बहस पनि चुलिएको छ। अब दुवै समूहले सार्वजनिक गर्ने उम्मेदवार सूची र चुनावी एजेन्डाले मतदाताको मन जित्ने आधार तय गर्ने देखिन्छ।
