२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक,...

रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक, मंगलबार मतदान

रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक, मंगलबार मतदान

सहर्ष न्युज
आइतवार, आषाढ ७ २०८३
सहर्ष न्युज
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।

    निर्वाचन तालिकाअनुसार आइतबार राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका प्रमुख भुवन केसीका अनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयन फारम वितरण सुरु हुनेछ।

    सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ।

    दाबी–विरोध परेका उम्मेदवारबारे सोमबार साँझ ७ बजेदेखि ९ बजेसम्म जाँचबुझ गरिने आयोगले जनाएको छ। उम्मेदवारले राति ९ः१५ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् भने अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिनेछ।

    निर्वाचन कार्यक्रमअनुसार असार ९ गते मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। उक्त चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ।

    मतदान सम्पन्न भएपछि पहिलो चरणको मतगणना गरी करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने आयोगले जनाएको छ। त्यसपछि आवश्यक परे दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ।

    आयोगले सभापति पदका उम्मेदवारका लागि ५१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। सभापति पदमा उम्मेदवारी दिन एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।

    रास्वपाको प्रथम महाधिवेशनमा कुल ४ हजार २११ जना प्रतिनिधि सहभागी रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend