काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितवनको भरतपुरमा हुने महाधिवेशनअघि शनिबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले महाधिवेशन पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढंगले अघि बढाउने महत्वपूर्ण अवसर भएको बताएका छन्।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित सार्वजनिक गरेको वाचा पत्रमा सदाचार र सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी तथा प्रवास सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको छ। पार्टीले सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर समृद्ध नेपालको लक्ष्य अघि सारेको जनाएको छ।
२०७९ असार ७ गते सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘अब जान्नेलाई छान्ने’ नारासहित रास्वपाको स्थापना गरेका थिए। स्थापना भएको केही महिनामै भएको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले २० सिट जित्दै राष्ट्रिय राजनीतिमा नयाँ शक्तिका रूपमा आफूलाई स्थापित गरेको थियो।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लामिछाने पहिलो पटक उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनले पद गुमाएका थिए। त्यसपछि भएको उपनिर्वाचनमा पुनः विजयी हुँदै उनी दोस्रो पटक पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए।
यसैबीच, रास्वपाले भरतपुरमा हुने आफ्नो प्रथम महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार असार ६ गते महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने असार ७ गते अन्तिम नामावली सार्वजनिक हुनेछ।
असार ८ गते उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ। त्यस्तै, असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र त्यसपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
रास्वपाले आफ्नो उद्गमस्थल मानिने चितवनमै आयोजना गर्न लागेको यस महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ।
