काठमाडौं । बेलायतको उत्तरी क्षेत्रमा शनिबार दुई रेल एकआपसमा ठोक्किँदा एक रेल चालकको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्।
बेलायती प्रहरीका अनुसार दुर्घटनामा परेका रेलमध्ये एकका चालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ३३ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
इस्ट मिडल्याण्ड्स रेलवे (ईएमआर) का अनुसार दुर्घटना राजधानी लन्डनबाट करिब ५६ किलोमिटर उत्तरमा रहेको बेडफोर्ड नजिक भएको हो। दुर्घटनापछि उद्धार तथा राहत कार्य तत्काल सञ्चालन गरिएको थियो।
यात्रुहरूलाई उद्धृत गर्दै बीबीसीले दुर्घटनामा परेको रेल लन्डनको सेन्ट प्यानक्रास स्टेशनतर्फ गइरहेको जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
यसअघि सन् २०२३ को सेप्टेम्बरमा स्कटिस हाइल्याण्ड्सको एभिमोर स्टेशनमा पनि दुई रेल ठोक्किँदा धेरै यात्रु घाइते भएका थिए।
