२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • दुई रात जङ्गलमा हराएका तीन बालक...

दुई रात जङ्गलमा हराएका तीन बालक सकुशल फेला

दुई रात जङ्गलमा हराएका तीन बालक सकुशल फेला

सहर्ष न्युज
शुक्रवार, आषाढ ५ २०८३
सहर्ष न्युज
शुक्रवार, आषाढ ५ २०८३
  • जुम्ला : जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाका तीन बालक दुई रात जङ्गलमा हराएपछि सकुशल अवस्थामा फेला परेका छन्। स्थानीयवासी र प्रहरीको संयुक्त खोजी अभियानपछि उनीहरूलाई जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रबाट उद्धार गरिएको हो।

    फेला पर्ने बालकहरूमा खड्क खत्रीका ७ वर्षीय परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय विनोद रोकाय रहेका छन्। उनीहरू विद्यालय जान भन्दै घरबाट निस्किए पनि साँझसम्म घर नफर्किएपछि अभिभावक चिन्तित बनेका थिए।

    बालकहरू हराएपछि परिवार, आफन्त र स्थानीयवासीले विद्यालय, गाउँका विभिन्न बाटाहरू, हिमा नदी किनार, नराकोट बजार तथा आसपासका क्षेत्रमा खोजी गरेका थिए। तर कुनै सुराक नलागेपछि इलाका प्रहरी कार्यालय नराकोटमा जानकारी गराइएको थियो।

    सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। व्यापक खोजी अभियानका क्रममा बालकहरू जुम्ला र कालीकोटको सिमानामा पर्ने खेतीखर्क नजिकको जङ्गल क्षेत्रमा फेला परेका हुन्।

    वडाध्यक्ष तीर्थ वडले स्थानीयवासीको निरन्तर सक्रियता र प्रहरीको समन्वित प्रयासका कारण बालकहरूलाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको बताउनुभयो।

    इलाका प्रहरी कार्यालय नराकोटका सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू काफल खान जङ्गलतर्फ गएका थिए। जङ्गलको भित्री भागसम्म पुगेपछि बाटो बिर्सिएर उनीहरू घर फर्किने मार्ग पहिचान गर्न नसकेका हुन्। त्यसपछि उनीहरूले दुई रात जङ्गलमै रहेको एक एनसेल टावरमुनि आश्रय लिएर बिताएका थिए।

    उनीहरू नराकोटस्थित सालम बोर्डिङ स्कुलका विद्यार्थी रहेको बताइएको छ। विद्यालयको पोसाकमै रहेका बालकहरूलाई एक भेडीगोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उनीहरूलाई सुरक्षित उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो।

    दुई दिनसम्म सम्पर्कविहीन रहेका बालकहरू सकुशल अवस्थामा फेला परेपछि गाउँभर खुसी र राहतको वातावरण छाएको छ। अभिभावक, आफन्त तथा स्थानीयवासीले बालकहरूको सुरक्षित फिर्तीप्रति खुसी व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend