सुलीकोट । हिमालको काखमा अवस्थित छेकम्पार यतिबेला सुनसान बनेको छ। यार्चागुम्बा सङ्कलनको मौसम सुरु भएसँगै गाउँका अधिकांश बासिन्दा चार हजार मिटरभन्दा माथिका लेकखर्कतर्फ लागेपछि बस्तीका घरहरूमा ताला झुन्डिएका छन्।
चुमनुब्री गाउँपालिका अन्तर्गतको छेकम्पारका ८१२ घरधुरीमध्ये अधिकांश परिवारका सदस्यहरू भाज्यो, छेक्या र फुचुन लेकतर्फ यार्चागुम्बा सङ्कलनका लागि पुगेका छन्। ती क्षेत्र अहिले अस्थायी पाल, त्रिपाल र टहराले भरिएका छन्।
वडाध्यक्ष टासीदोर्जे लामाका अनुसार गाउँका अधिकांश घर खाली भएका छन्। केही घरमा वृद्धवृद्धा मात्र बसिरहेका छन् भने कतिपय परिवारले घर तथा बालबच्चाको हेरचाहका लागि तल्लो भेगका महिलालाई पारिश्रमिकमा जिम्मेवारी दिएका छन्।
स्थानीय मिङमा छिरिङका अनुसार छेकम्पारका अधिकांश बासिन्दा तिब्बत सीमासँग जोडिएका उच्च हिमाली लेकमा यार्चागुम्बा सङ्कलनमा व्यस्त छन्। अहिले पिल्लर नम्बर ३४, ३५ र ३६ आसपासका क्षेत्रमा यार्चा खोज्नेहरूको भीड लागेको छ। सङ्कलनपछि नाका सञ्चालनमा आएपछि यार्चागुम्बा तिब्बततर्फ बिक्रीका लागि लगिने गरिएको उहाँले बताउनुभयो।
हालै लेक क्षेत्रको अनुगमन गरी फर्किएका मनासलु संरक्षण क्षेत्र आयोजना का कर्मचारी सुवास नेपालका अनुसार गाउँलेहरू वैशाखको पहिलो सातादेखि नै लेकमा बस्दै आएका छन् र असारको पहिलो सातासम्म त्यहीँ रहने योजना बनाएका छन्।
स्थानीयका लागि यार्चागुम्बा प्रमुख आम्दानीको स्रोत बनेको छ। दुई महिनासम्म हुने सङ्कलनबाट प्राप्त आम्दानीले धेरै परिवारको वर्षभरिको जीविकोपार्जन धान्ने गरेको छ। यद्यपि यस वर्ष विगतको तुलनामा यार्चागुम्बा कम भेटिएको जानकारी प्राप्त भएको वडाध्यक्ष लामाले बताउनुभयो।
हिमाली भेगका बासिन्दाका लागि यार्चागुम्बा अझै पनि आशा, श्रम र जीविकाको महत्वपूर्ण आधार बनेको छ। छेकम्पार बस्ती सुनसान देखिए पनि उपल्लो लेकमा भने यतिबेला चहलपहल र व्यस्तता बढेको छ।
