हुम्ला । कैलाश मानसरोवर दर्शनको याम सुरु भएसँगै हुम्ला हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। नेपालगञ्ज–सिमकोट–हिल्सा मार्ग प्रयोग गरी चीनको ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने यात्रु बढेसँगै हुम्लाको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाख ३० गतेदेखि तीर्थयात्री आगमन सुरु भएको थियो। हालसम्म तीन हजार ७८० भारतीय पर्यटकले हुम्ला मार्ग प्रयोग गरेर कैलाश मानसरोवर यात्रामा सहभागिता जनाइसकेका छन्। तीमध्ये एक हजार ८९२ महिला र एक हजार ८८८ पुरुष रहेका छन्।
पर्यटन याम सुरु भएयता दैनिक ८० देखि २०० जनासम्म भारतीय तीर्थयात्री हवाई मार्गबाट हुम्ला आइपुग्ने गरेका छन्। यात्रु चाप बढेसँगै सिमकोट र हिल्सा क्षेत्रको पर्यटन गतिविधि पनि उल्लेख्य रूपमा बढेको छ।
पर्यटकको आगमनले स्थानीय होटल, रिसोर्ट तथा आवास सेवामा व्यस्तता बढेको छ। होटल व्यवसायीहरूले आम्दानीमा वृद्धि भएको बताएका छन् भने विमानस्थलदेखि होटलसम्म सामान ढुवानी गर्ने कार्यमा ३० भन्दा बढी भरियाले रोजगारी पाएका छन्। स्थानीय कृषिजन्य उत्पादनले समेत राम्रो बजार पाउन थालेको छ।
यात्रु सङ्ख्या बढ्दै जाँदा हवाई सेवा पनि विस्तार गरिएको छ। हाल निजी वायुसेवा कम्पनीहरूले दैनिक छ वटा उडानमार्फत नेपालगञ्ज–सिमकोट सेवा सञ्चालन गरिरहेका छन्। त्यस्तै, विभिन्न कम्पनीका छ वटा हेलिकप्टरले सिमकोट–हिल्सा खण्डमा नियमित उडान गर्दै आएका छन्। हेलिकप्टर सेवा बिहान ६:३० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरेको छ।
पर्यटक गतिविधि सिमकोटमा मात्र सीमित नभई नेपाल–चीन सीमा क्षेत्र हिल्सामा समेत व्यापारिक र आवासीय कारोबार बढेको छ। होटल व्यवसायी, यातायात क्षेत्र र स्थानीय श्रमिकले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन्।
प्रशासनका अनुसार तीर्थयात्रीको चाप बढेसँगै सिमकोट विमानस्थल बिहानदेखि बेलुकासम्म व्यस्त रहने गरेको छ। कतिपय समयमा यात्रु र उडानको अत्यधिक चापका कारण विमानस्थल व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्न थालेको छ।
कैलाश मानसरोवर यात्राको मुख्य याम अझै जारी रहेकाले आगामी दिनमा भारतीय तीर्थयात्रीको सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ।
