२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • ठेक्का अवधि सकिँदा पनि सेवारखोला चारलेन...

ठेक्का अवधि सकिँदा पनि सेवारखोला चारलेन पुलको ५५ प्रतिशत मात्र काम सम्पन्न

ठेक्का अवधि सकिँदा पनि सेवारखोला चारलेन पुलको ५५ प्रतिशत मात्र काम सम्पन्न

सहर्ष न्युज
सोमवार, आषाढ १ २०८३
सहर्ष न्युज
सोमवार, आषाढ १ २०८३
  • घोराही । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिँदा पनि निर्माण कार्य अपेक्षित रूपमा सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको परियोजनाको हालसम्म करिब ५५ प्रतिशत मात्र काम सकिएको छ।

    घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको आधुनिक पुल निर्माणका लागि २०८० जेठ ३० गते एमएस रायमाझी कन्स्ट्रक्सन जेभी, काठमाडौँसँग २३ करोड २२ लाख ४३ हजार ३०० रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

    पुल सेक्टर कार्यालय नेपालगन्जका इन्जिनियर रामकिसुन चौधरीका अनुसार सम्झौताअनुसार २०८३ जेठ २८ गतेभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो। तर निर्माण व्यवसायीको सुस्त कार्यशैली र बजेट अभावका कारण निर्धारित समयभित्र काम पूरा हुन नसकेको उहाँले बताउनुभयो।

    “समयमै काम सम्पन्न गर्न पटक–पटक ताकेता गरिए पनि निर्माण कम्पनीले अपेक्षित गतिमा काम गर्न सकेन,” इन्जिनियर चौधरीले भन्नुभयो। उहाँका अनुसार हालसम्म पुल निर्माणको प्रगति करिब ५५ प्रतिशत पुगेको छ।

    निर्माण कम्पनीले अहिलेसम्म १० करोड ९३ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। निर्धारित अवधिमा काम सम्पन्न नभएपछि आगामी चैत मसान्तसम्मका लागि म्याद थप गर्न आवश्यक प्रक्रिया अघि बढाइएको र सम्बन्धित फाइल पुल विभागमा पठाइएको कार्यालयले जनाएको छ।

    स्थानीयवासीका अनुसार सेवारखोलामा पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा सवारी आवागमन प्रभावित हुने गरेको छ। पुल निर्माण सम्पन्न भएपछि घोराही–तुलसीपुर सडकखण्डमा यातायात सञ्चालन थप सहज हुनुका साथै स्थानीय बासिन्दालाई आवतजावतमा समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend