काठमाडौं । आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विवाद समाधानका लागि दिनभर छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन। प्रजिअ रेग्मीका अनुसार सोमबार बिहान पुनः गोदावरी नगरपालिकाका मेयरसहित दुवै पक्षबीच छलफल गर्ने सहमति भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराका अनुसार चार जना कर्मचारी स्थानीय प्रहरी हिरासतमा राखिएका छन् भने जिल्ला प्रहरी कार्यालय कैलालीमा थप सात जना कर्मचारीलाई नियन्त्रणमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले कुल ११ जना कर्मचारी नियन्त्रणमा रहेको पुष्टि गर्दै उनीहरूको पहिचान प्रमाणीकरणको प्रक्रिया जारी रहेको जानकारी दिए। उनका अनुसार घटनामा संलग्न मुख्य आरोपीको समेत पहिचान भइसकेको छ, तर उनीहरू मोबाइल बन्द गरेर सम्पर्कविहीन बनेका छन्।
घटना के हो ?
गत शुक्रबार दिउँसो गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए।
धामीले आफ्नै घर नजिक सडक किनारमा टेम्पो रोकेर पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत सामग्री बिक्री गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। वन कर्मचारीहरूले भने वन क्षेत्र अतिक्रमण गरी व्यापार सञ्चालन गरिएको भन्दै टेम्पो हटाउन खोजेका थिए।
प्रत्यक्षदर्शीका अनुसार टेम्पोमा रहेका सामानहरू निकालेपछि कर्मचारीहरूले टेम्पोलाई धकेलेर भीरबाट खसालेका थिए। घटनाको भिडियो शनिबार सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचना भएको थियो।
वन कार्यालयको बचाउ
घटनापछि डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूको बचाउ गरेका छन्।
विज्ञप्तिमा टेम्पो जानाजान भीरबाट नखसालिएको दाबी गर्दै अतिक्रमण हटाउने क्रममा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो खसेको उल्लेख गरिएको छ। वन कार्यालयले टेम्पो सञ्चालनयोग्य नरहेको तथा कबाड अवस्थाको रहेको दाबी पनि गरेको छ।
वन कार्यालयका अनुसार गोदावरी सामुदायिक वन क्षेत्रभित्र भइरहेको अतिक्रमण हटाउने अभियानअन्तर्गत अन्य १० वटा अस्थायी संरचना समेत हटाइएको थियो। टेम्पो हटाउन एक महिनाअघि नै निर्देशन दिइएको भए पनि अटेर गरिएकाले बल प्रयोग गर्नुपरेको दाबी विज्ञप्तिमा गरिएको छ।
पीडित परिवारको दाबी
धामी परिवारले भने वन कार्यालयको दाबी अस्वीकार गरेको छ। उनीहरूका अनुसार टेम्पो चालु अवस्थामा थियो र गत वर्ष मात्रै खरिद गरिएको थियो। परिवारका सदस्य रोजगारीका लागि भारतमा रहेकाले धनादेवीले टेम्पोलाई व्यापारका लागि प्रयोग गर्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले टेम्पोको वास्तविक अवस्था र घटनाको प्रकृतिबारे अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएका छन्। उनका अनुसार दुवै पक्षबाट फरक–फरक दाबी आएकाले निष्पक्ष अनुसन्धान भइरहेको छ।
