काठमाडौं । आज देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। साथै बाँकी हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना रहेको छ।
महाशाखाले मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै बाँकी हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
यता मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
