२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • खोटाङका दिपेश कार्कीको मुम्बईमा अर्बौंको डिजिटल...

खोटाङका दिपेश कार्कीको मुम्बईमा अर्बौंको डिजिटल साम्राज्य: ‘लेनदेन क्लब’मार्फत वित्तीय क्रान्तिको नेतृत्व

खोटाङका दिपेश कार्कीको मुम्बईमा अर्बौंको डिजिटल साम्राज्य: ‘लेनदेन क्लब’मार्फत वित्तीय क्रान्तिको नेतृत्व

सहर्ष न्युज
शनिवार, जेठ २३ २०८३
सहर्ष न्युज
शनिवार, जेठ २३ २०८३
  • काठमाडौं । नेपाली समाजमा ‘ऋण कहिल्यै नलागोस्’ भन्ने परम्परागत सोच गहिरोसँग स्थापित छ। तर खोटाङका ३८ वर्षीय युवा दिपेश कार्कीले यही ऋणलाई आर्थिक सशक्तीकरण र प्रगतिका अवसरमा रूपान्तरण गर्दै भारतको आर्थिक राजधानी मुम्बईमा अर्बौं रुपैयाँको डिजिटल वित्तीय साम्राज्य निर्माण गरेका छन्।

    खोटाङको विकट हौंचुर गाउँमा जन्मिएका कार्की दक्षिण एसियाकै अग्रणी डिजिटल पुँजी बजार ‘लेनदेन क्लब’ (LendenClub) का सह-संस्थापक हुन्। कम्पनीले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर रहेर लाखौं मानिसलाई वित्तीय पहुँच प्रदान गर्दै डिजिटल वित्तीय क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ।

    बाल्यकालमा आफ्ना आमाबुबाले गाउँलेहरूलाई गर्ने सानो–सानो आर्थिक सहयोग र ऐँचोपेँचो देखेर हुर्किएका कार्कीको मनमा वित्तीय समावेशीकरणको बीउ त्यहीँबाट रोपिएको थियो। आर्थिक अभावका कारण पाइलट बन्ने सपना पूरा हुन नसके पनि उनले हार मानेनन्। काठमाडौंस्थित विभिन्न दूतावासमा धाउँदै अन्ततः भारतमा इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे।

    सन् २०११ मा अध्ययन पूरा गरेपछि अमेरिकामा करियर बनाउने अवसर त्याग्दै उनले मुम्बईलाई आफ्नो कर्मभूमि बनाउने निर्णय गरे। त्यसपछि सन् २०१५ मा भाविन पटेलसँग मिलेर ‘लेनदेन क्लब’ स्थापना गरे, जसले Peer-to-Peer (P2P) Lending प्लेटफर्ममार्फत ऋण चाहने र लगानी गर्न इच्छुक व्यक्तिहरूलाई डिजिटल माध्यमबाट प्रत्यक्ष जोड्ने काम गर्छ।

    परम्परागत बैंकहरूले धितो अभावका कारण ऋण नदिने साना उद्यमी र निम्न आय भएका वर्गलाई लक्षित गर्दै कम्पनीले कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल व्यवहारसम्बन्धी डेटा प्रयोग गरी ऋण मूल्यांकन प्रणाली विकास गरेको छ।

    कम्पनीका अनुसार पछिल्लो एक दशकमा प्लेटफर्ममार्फत १९ हजार करोड भारतीय रुपैयाँ (करिब ३ खर्ब नेपाली रुपैयाँ) भन्दा बढी ऋण सहजीकरण गरिएको छ। हाल यसमा ३ करोडभन्दा बढी ऋणी र ४४ लाख लगानीकर्ता आबद्ध छन्।

    ‘लेनदेन क्लब’ले मुम्बईका झुपडपट्टीमा बसोबास गर्ने परिवारदेखि सामान्य कर्मचारीसम्मका लाखौं मानिसलाई आवश्यक समयमा वित्तीय सहयोग उपलब्ध गराउँदै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरेको छ।

    कम्पनीले लगातार चार वर्ष ‘ग्रेट प्लेस टु वर्क’ सम्मान प्राप्त गर्नुका साथै सन् २०२५ मा ‘बेस्ट फिनटेक प्रडक्ट अफ द इयर’ अवार्ड समेत जित्न सफल भएको छ।

    व्यस्त व्यावसायिक जीवनका बाबजुद कार्की नियमित कसरत, हाइकिङ र फुटबलमार्फत आफूलाई सक्रिय राख्छन्। साथै, आगामी दिनमा नेपालको फिनटेक क्षेत्र तथा युवा स्टार्टअपहरूलाई प्रविधिगत सहयोग गर्दै देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउने इच्छा व्यक्त गरेका छन्।

    खोटाङको गाउँबाट सुरु भएको दिपेश कार्कीको यात्रा आज दक्षिण एसियाको डिजिटल वित्तीय क्षेत्रमा प्रेरणादायी सफलताको उदाहरण बनेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend