बुटवल । बुटवलको व्यस्त व्यापारिक क्षेत्र अमरपथस्थित एक सुनचाँदी पसलबाट करिब ८० तोला सुन चोरी भएको घटना सार्वजनिक भएको छ। चोरी भएको सुनका गरगहना र काँचो सुनको बजार मूल्य करिब साढे दुई करोड रुपैयाँ बराबर रहेको बताइएको छ।
अमरपथमा रहेको तिनाउ सुनचाँदी पसलमा चोरी भएको हो। पसल सञ्चालक दीपक सेन्चुरी घुम्नका लागि पोखरा गएका बेला घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सोमबार बिहान पसलको सटर खुलेको अवस्थामा देखेपछि स्थानीयले सञ्चालकलाई जानकारी गराएका थिए। त्यसपछि पसलमा पुगेका परिवारका सदस्य तथा कामदारहरूले पसलबाट सुन चोरी भएको पुष्टि गरेका हुन्।
पसल सञ्चालक सेन्चुरीका अनुसार पसलमा राखिएको सुनका गरगहना र काँचो सुन गरी करिब ८० तोला सुन चोरी भएको छ। चोरी भएका सामग्रीको अनुमानित मूल्य साढे दुई करोड रुपैयाँ रहेको उनले बताए।
पसलका कामदार नवीन विकका अनुसार पसलमा जडान गरिएको सिसिटिभी क्यामरा विगत तीन महिनादेखि बिग्रिएको अवस्थामा थियो। यही कमजोरीको फाइदा उठाउँदै चोरले घटना गराएको हुन सक्ने आशंका गरिएको छ।
घटनास्थल निरीक्षणका क्रममा पसलभित्र एउटा ठूलो चाबीको झुप्पा फेला परेको प्रहरीले जनाएको छ। तर ती चाबीहरू पसलकै नभएको बताइएको छ। पसलभित्र रहेका दुईवटा लकरमध्ये सुनका गरगहना राखिएको लकर खुला अवस्थामा भेटिएको थियो भने त्यसमा रहेका सबै सुनका सामग्री गायब थिए।
चोरीको घटनालाई थप रहस्यमय बनाउने पक्ष भनेको पसलको बाहिरी सटर र भित्री च्यानल गेटमा कुनै प्रकारको तोडफोडको चिन्ह नदेखिनु हो। यसले चोर कुनै विशेष तरिकाबाट पसलभित्र प्रवेश गर्न सफल भएको वा सुरक्षाप्रणाली छल्न सकेको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलबाट करिब १५० मिटरको दूरीमा प्रहरी बिट रहे पनि यति ठूलो चोरी हुनुले स्थानीय सुरक्षाप्रणालीमाथि प्रश्न उठाएको छ। करोडौँ रुपैयाँ बराबरको सुन चोरी भएको घटनापछि बुटवलका सुनचाँदी व्यवसायीहरूमा त्रास बढेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
