महोत्तरी । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मङ्गलबार उक्त फैसला सुनाएको हो।
अदालतले भ्रष्टाचारबाट प्राप्त रकमको आधारमा जरिवाना निर्धारण गर्नुका साथै ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’मा जम्मा गर्न आदेश दिएको छ। साथै घुस तथा कमिसनबापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिएको छ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसन स्वरूप उक्त रकम लिएको पुष्टि भएको अदालतले जनाएको छ। प्रतिवादीले रकम लिएको विषयमा विवाद नगरेकाले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरिएको अदालतको ठहर छ।
अभियोगपत्रअनुसार उपभोक्ता समितिहरूको खातामा रहेको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त बैंक खातामा ३८ लाख ५० हजार १३९ रुपैयाँ जम्मा गरेका थिए। उक्त रकम हिनामिना गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप अदालतबाट प्रमाणित भएको हो।
यससँगै विशेष अदालतले भ्रष्टाचार कसुर पुष्टि भएको निष्कर्ष निकाल्दै कैद, जरिवाना, क्षतिपूर्ति तथा गैरकानुनी रूपमा प्राप्त रकम जफत गर्ने आदेश जारी गरेको छ।
