२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • बेंगलुरुले लगातार दोस्रो पटक आईपीएल उपाधि...

बेंगलुरुले लगातार दोस्रो पटक आईपीएल उपाधि जित्यो, फाइनलमा गुजरात ५ विकेटले पराजित

बेंगलुरुले लगातार दोस्रो पटक आईपीएल उपाधि जित्यो, फाइनलमा गुजरात ५ विकेटले पराजित

सहर्ष न्युज
सोमवार, जेठ १८ २०८३
सहर्ष न्युज
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो।

    गुजरातले प्रस्तुत गरेको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। टोलीको जितमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७५ रनको योगदान दिए। ४२ बल सामना गरेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। भेनकटेश अय्यरले ३२ रन जोड्दै कोहलीलाई राम्रो साथ दिए।

    गुजरातका बलरमध्ये राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले समान १–१ विकेट हात पारे।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। वासिङ्टन सुन्दरले अविजित अर्धशतक प्रहार गर्दै ५० रन बनाए। निशान्त सिन्धुले २० तथा जस बटलरले १९ रनको योगदान दिए।

    बेंगलुरुका लागि रसिख सलामले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। जोश हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट हात पारे।

    बेंगलुरुले यस सिजन गुजरातमाथि आफ्नो दबदबा कायम राख्यो। पहिलो क्वालिफायरमा पनि गुजरातलाई हराएको बेंगलुरु लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलसम्म पुगेको थियो।

    गत संस्करणमा पन्जाब किङ्सलाई हराएर पहिलो पटक आईपीएल उपाधि जितेको बेंगलुरुले यसपटक उपाधि रक्षा गर्दै इतिहास रचेको छ। आईपीएलमा लगातार दुई पटक उपाधि जित्ने बेंगलुरु तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले २०१० र २०११ तथा मुम्बई इन्डियन्सले २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए।

    आईपीएल इतिहासमा सर्वाधिक उपाधि जित्ने टोलीका रूपमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स समान ५–५ उपाधिसहित शीर्ष स्थानमा छन्। कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान एक–एक पटक उपाधि जितेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend