२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • कुशल भुर्तेलको विस्फोटक शतकमा चीनमाथि नेपालको...

कुशल भुर्तेलको विस्फोटक शतकमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित

कुशल भुर्तेलको विस्फोटक शतकमा चीनमाथि नेपालको २२१ रनको फराकिलो जित

सहर्ष न्युज
आइतवार, जेठ १७ २०८३
सहर्ष न्युज
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ । कुशल भुर्तेलको सानदार शतकको मद्दतमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

    सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो। चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए। डु जियान हाउले १७ तथा कप्तान टेन सेन कुनले १२ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालका बलरहरू चीनमाथि पूर्ण रूपमा हाबी भए। कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे। नन्दन यादवले एक विकेट लिएर चीनको ब्याटिङ लाइनअपलाई धराशायी बनाउन महत्वपूर्ण भूमिका खेले।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा पाँच चौका र १६ छक्काको मद्दतमा १२९ रनको विस्फोटक इनिङ्स खेले।

    भुर्तेलले खेलको नवौँ ओभरमा लगातार छ छक्का प्रहार गर्दै एकै ओभरमा ३७ रन बटुलेका थिए, जुन खेलको मुख्य आकर्षण बन्यो। यस्तै, कुशल मल्लले ४७ बलमा ८५ रन तथा कप्तान रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाए।

    नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो उच्च योगफल हो। यसअघि नेपालले २०२३ एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो, जुन हालसम्मकै उच्च स्कोर हो।

    चीनका लागि मा कुइनचेन र डेङ्ग जिङ्कीले समान एक–एक विकेट लिए।

    पहिलो खेलमै प्रभावशाली जित निकाल्दै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। जुन ८ सम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ मलेसिया र चीन प्रतिस्पर्धी टोलीका रूपमा रहेका छन्।

    समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन्। प्रतियोगिताबाट समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend