सडक फराकिलो नबनाइएसम्म जलविद्युत् आयोजनासम्बन्धी मालवाहक सवारीसाधन सञ्चालन गर्न नदिने
मनाङ । मनाङ–वेशिसहर सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका–३ खोत्रो क्षेत्रमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
मनाङ चिनोखोला जलविद्युत् आयोजनाका लागि पाइप बोकेर जाँदै गरेको लु २ ख १८८ नम्बरको ट्रक उकालो चढ्ने क्रममा नियन्त्रण गुमाई सडकबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय धारापानीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकले उकालो तान्न नसकेपछि दुर्घटना भएको हो। दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ निवासी ३२ वर्षीय गंगा लाम्गाती र ट्रकमा सवार मनाङ नासो गाउँपालिका–१ निवासी ६८ वर्षीय सूर्यबहादुर गुरुङ घाइते भएका छन्।
घाइते दुवै जनालाई उपचारका लागि लमजुङ पठाइएको इलाका प्रहरी कार्यालय धारापानीका प्रहरी नायब निरीक्षक मानबहादुर गुरुङले जानकारी दिनुभयो।
दुर्घटनापछि स्थानीयवासीहरूले सडक साँघुरो भएकै कारण घटना भएको निष्कर्ष निकाल्दै सडक फराकिलो नबनाइएसम्म जलविद्युत् आयोजनासम्बन्धी मालवाहक सवारीसाधन सञ्चालन गर्न नदिने निर्णय गरेका छन्।
स्थानीयले सडकको स्तरोन्नति र सुरक्षा व्यवस्थामा ध्यान दिन सम्बन्धित निकायसँग मागसमेत गरेका छन्।
