२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान,...

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने

सहर्ष न्युज
बिहिवार, जेठ १४ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आवमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६६ खर्ब ९ अर्ब रुपियाँ पुग्ने प्रक्षेपण गरिएको हो ।

    सर्वेक्षणले चालु आवको आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने अनुमान गरेको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान गरिएको छ ।

    प्रतिव्यक्ति आय बढेर अमेरिकी डलरमा एक हजार ५१३ पुग्ने अनुमान गरिएको छ । प्रदेशगत रूपमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी दुई हजार ६४४ डलर पुग्ने अनुमान छ भने मधेश प्रदेशको सबैभन्दा कम ९३४ डलर रहने प्रक्षेपण गरिएको छ ।

    सर्वेक्षणअनुसार अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहनेछ । उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ ।

    राजस्वभन्दा खर्च बढी, ५८ अर्बको वित्त घाटा

    सार्वजनिक वित्ततर्फ सरकारको चालु खर्च फागुनसम्म १०.४ प्रतिशतले बढ्दा राजस्व भने ३.२ प्रतिशतले मात्र वृद्धि भएको छ । खर्चअनुसार राजस्व वृद्धि हुन नसक्दा सरकारले ५८ अर्ब रुपियाँ वित्त घाटा व्यहोर्नुपरेको सर्वेक्षणमा उल्लेख छ ।

    फागुनसम्म सरकारको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ । कुल ऋणमध्ये ४७ प्रतिशत आन्तरिक र ५३ प्रतिशत बाह्य ऋण रहेको छ ।

    त्यस्तै, मुद्रास्फीति नियन्त्रणमै रहेको उल्लेख गर्दै फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

    विप्रेषण र विदेशी मुद्रा सञ्चिति उच्च

    चालु आवमा विप्रेषण आप्रवाह ३७ प्रतिशतले बढेर फागुनसम्म १४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ । विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि इतिहासकै उच्च विन्दुमा पुगेको छ । फागुनसम्म यस्तो सञ्चिति ३४ खर्ब १३ अर्ब रुपियाँ पुगेको तथ्याङ्क छ ।

    वित्तीय पहुँचमा पनि उल्लेख्य सुधार भएको छ । फागुनसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या ६ करोड २० लाख पुगेको छ भने कर्जा खाता २० लाख ४० हजार पुगेका छन् ।

    मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख पुगेका छन् भने क्युआरमार्फत हुने भुक्तानी बढेर १ खर्ब २५ अर्ब रुपियाँ पुगेको छ ।

    निक्षेप ६.६४ प्रतिशतले बढेर ७७ खर्ब ४५ अर्ब रुपियाँ पुगे पनि कर्जा प्रवाह भने ४.४ प्रतिशतले मात्र वृद्धि भएर ५७ खर्ब ४१ अर्ब रुपियाँ पुगेको छ ।

    गरिबी घट्यो, सामाजिक सूचकाङ्कमा सुधार

    आर्थिक सर्वेक्षणले सामाजिक क्षेत्रमा पनि सुधारका संकेत देखाएको छ । निरपेक्ष गरिबी २०.२७ प्रतिशतमा झरेको छ भने बहुआयामिक गरिबी १७.४ प्रतिशतमा सीमित भएको छ ।

    लैङ्गिक विकास सूचकाङ्क ०.८८५ पुगेको छ । कुल सिँचाइयोग्य जमिनमध्ये ६२.६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ भने वन क्षेत्र विस्तार भएर ४६.०८ प्रतिशत पुगेको छ ।

    फागुनसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् । हालसम्म कुल उद्योगको सङ्ख्या ११ हजार १४० पुगेको छ । उद्योग विभागले ६ खर्ब २५ अर्ब ५८ करोड रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।

    त्यस्तै, कम्पनी दर्ता सङ्ख्या ३ लाख ६९ हजार ६४६ पुगेको उल्लेख गरिएको छ ।

    विद्युत् पहुँच ९९ प्रतिशत, पेट्रोलियम आयात घट्यो

    विद्युत्को प्रयोग बढेसँगै पेट्रोल र डिजेल आयात १० प्रतिशतले घटेको पाइएको छ । हाल देशको ९९.१ प्रतिशत जनसङ्ख्या विद्युत् पहुँचमा पुगेको छ ।

    सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल आएका छन् भने उनीहरूको औसत बसाइ अवधि १६.२४ दिन पुगेको छ ।

    फागुनसम्म देशभर १ लाख ४ हजार ९०६ किलोमिटर सडक विस्तार भएको छ ।

    सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ८ हजार ९७६ पुगेको छ भने स्वास्थ्य बिमा कार्यक्रममा २१ लाख ४८ हजार नागरिक आबद्ध भएका छन् ।

    त्यस्तै, ९७ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानी पहुँचमा पुगेका छन् । आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ ।

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३६ लाख ४१ हजार पुगेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार व्यक्ति सूचीकृत भएका छन् ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार सरकारले बजेटअघि आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारले आगामी शुक्रबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend