काठमाडौँ । विश्वकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा दक्षिण अमेरिकी राष्ट्र उरूग्वेमा आयोजना गरिएको थियो । जुलाई १३ देखि ३० सम्म सञ्चालन भएको उक्त प्रतियोगिताले विश्व फुटबल इतिहासमा नयाँ युगको सुरुवात गरेको थियो।
विश्वकप आयोजना गर्ने अधिकार उरूग्वेले सन् १९२९ मा स्पेनको बार्सिलोनामा आयोजित सम्मेलनमार्फत प्राप्त गरेको थियो । सन् १९२८ मा आम्स्टर्डम ओलम्पिकमा फुटबलतर्फ स्वर्ण पदक जितेको उरूग्वेलाई विश्व फुटबलको उदीयमान शक्तिका रूपमा हेरिएको थियो ।
त्यतिबेला उरूग्वेमा आधुनिक रंगशालाको पर्याप्त व्यवस्था नभए पनि उसले युरोपेली राष्ट्रहरूलाई पछि पार्दै पहिलो विश्वकप आयोजना गर्ने अवसर हात पारेको थियो ।
पहिलो विश्वकपमा आयोजक उरूग्वेसहित अर्जेन्टिना, ब्राजिल, फ्रान्स, अमेरिका, मेक्सिको, बेल्जियम, युगोस्लाभिया, चिली, रोमानिया, पेरू, पाराग्वे र बोलिभिया गरी १३ टोली सहभागी थिए । टोलीहरूलाई चार समूहमा विभाजन गरिएको थियो ।
समूह चरण पार गर्दै अर्जेन्टिना, उरूग्वे, अमेरिका र युगोस्लाभिया सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा अर्जेन्टिनाले अमेरिकालाई ६–१ ले हरायो भने उरूग्वेले युगोस्लाभियामाथि समान ६–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
जुलाई ३० मा उरूग्वेको ऐतिहासिक सेन्टेनारियो रंगशालामा भएको फाइनल खेल हेर्न करिब ९३ हजार दर्शक उपस्थित भएका थिए । अर्जेन्टिनाबाट मात्रै करिब १५ हजार समर्थक फाइनल हेर्न उरूग्वे पुगेका थिए ।
रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै आयोजक उरूग्वेले पहिलो विश्वकप उपाधि जितेर इतिहास रचेको थियो । उपाधि जितेको भोलिपल्ट उरूग्वे सरकारले सार्वजनिक बिदासमेत घोषणा गरेको थियो ।
यता हारपछि अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा आक्रोशित समर्थकहरूले उरूग्वेको राजदूतावासमा ढुंगामुढा गरेका थिए ।
प्रतियोगितामा अर्जेन्टिनाका गियुललेर्मो स्टेबिलले सर्वाधिक ८ गोल गर्दै पहिलो विश्वकपका शीर्ष गोलकर्ता बनेका थिए ।
त्यस्तै, विश्वकप इतिहासको पहिलो खेल फ्रान्स र मेक्सिकोबीच खेलाइएको थियो । उक्त खेलको १९औँ मिनेटमा फ्रान्सका लुसियन लाउरेन्टले गरेको गोल विश्वकप इतिहासकै पहिलो गोल बनेको थियो । फ्रान्सले मेक्सिकोलाई ३–१ ले पराजित गर्दै पहिलो विश्वकपको उद्घाटन खेल जित्ने टोलीसमेत बनेको थियो ।
फाइनल खेल आयोजना गरिएको सेन्टेनारियो रंगशाला उरूग्वेको स्वतन्त्रता दिवसको अवसरमा निर्माण गरिएको थियो । आज पनि उक्त रंगशालालाई उरूग्वेलीहरूले स्वतन्त्रता र विजयको प्रतीकका रूपमा हेर्ने गरेका छन् ।
