वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न स्थानमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको पानी सङ्कलन ट्याङ्की १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। झण्डै पाँच हजार रोपनी खेतीयोग्य जमिनमा सहज सिँचाइ पुर्याउने लक्ष्यसहित निर्माण गरिएको ट्याङ्की सञ्चालनमा आउन नसक्दा स्थानीय कृषक चिन्तित बनेका छन्।
वालिङ नगरपालिका–९ र १० का कृषकहरूको मागअनुसार वि.सं. २०६९ सालमा आठ लाख लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण गरिएको थियो। वालिङ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मदिखोलाको माथिल्लो भागबाट बजार क्षेत्रमा खानेपानी ल्याउने क्रममा पूर्वसहमतिको आधारमा उक्त ट्याङ्की निर्माण गरेको हो।
कृषकको दबाबपछि बनेको थियो ट्याङ्की
वालिङका पूर्वनगरप्रमुख तथा तत्कालीन खानेपानी संस्थाका अध्यक्ष भोजराज अर्यालका अनुसार कृषकहरूले सिँचाइका लागि पानी आवश्यक रहेको भन्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि आर्थिक वर्ष २०६१/६२ मा ट्याङ्की निर्माण गर्ने सहमति भएको थियो।
उहाँका अनुसार कृषकसँगको सहमतिअनुसार नै सिँचाइका लागि पानी सङ्कलन गर्न ट्याङ्की निर्माण गरिएको हो। खानेपानी विभागसँगको सहकार्यमा ५६ लाख रुपैयाँ लागतमा ट्याङ्की निर्माण गरिएको संस्थाका प्रमुख देव बोगटीले जानकारी दिनुभयो।
पुनर्निर्माण नहुँदा कृषक निराश
स्थानीय कृषक तथा सामाजिक अगुवा राजेन्द्रप्रसाद गैह्रेले कृषकहरूको लामो संघर्षपछि निर्माण गरिएको सिँचाइ ट्याङ्की वर्षौंदेखि प्रयोगविहीन बनेको बताउनुभयो।
“कृषकका लागि निर्माण गरिएको ट्याङ्की अलपत्र छ। पुनर्निर्माणका लागि पटक–पटक माग गरे पनि कुनै सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो।
बाढीले थप क्षति
२०८१ सालमा सामान्य रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिए पनि असारमा आएको बाढीले पानी ल्याउने पाइप तथा आसपासका संरचनामा क्षति पुर्याएको कृषक सूर्यप्रसाद पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार बाढीपछि ट्याङ्की पुनः प्रयोगविहीन बनेको छ भने पुनर्निर्माणका लागि सम्बन्धित निकायले चासो नदिएको गुनासो छ।
संस्थाका प्रमुख बोगटीका अनुसार बाढीका कारण झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। उहाँले ट्याङ्की मर्मत तथा पुनर्निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो।
“कृषकको हितलाई ध्यानमा राखेर सिँचाइ ट्याङ्की पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “सकेसम्म छिट्टै पूर्ण रूपमा सञ्चालन गर्ने योजना छ।”
