सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा निर्माण सुरु गरिएको सिमेन्ट उद्योग लगानीमैत्री वातावरणको अभावमा अलपत्र पर्ने अवस्थामा पुगेको छ। सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीले सरकारी सहयोग नपाएको भन्दै उद्योगबाटै हात झिक्न सक्ने संकेत गरेको छ।
२०७७ सालमा लगानी बोर्डबाट स्वीकृति पाएपछि दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्यसहित उद्योगको प्रारम्भिक पूर्वाधार निर्माण थालिएको थियो। तर पहुँच मार्ग र विद्युत् विस्तारजस्ता आधारभूत पूर्वाधार निर्माणमा सरकारी सहयोग नपाएपछि अहिले काम रोकिएको कम्पनीले जनाएको छ।
करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उद्योगका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ। उद्योग स्थापना स्थलसम्म सडक र विद्युत् नपुग्दा निर्माण कार्य प्रभावित भएको हो।
कम्पनीका अध्यक्ष मुकुन्द तिमिल्सेनाका अनुसार वराहताल गाउँपालिका–७ लखरपाटामा ९५ हजार हेक्टर क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्ने योजना बनाइएको छ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जग्गा खरिद गरिसकिएको छ।
“काम तीव्र गतिमा अघि बढ्नुपर्ने समयमा आधारभूत पूर्वाधारकै अभाव छ। सरकारले आवश्यक पहल नगरे उद्योग सञ्चालन गर्न कठिन हुन्छ,” कम्पनीको भनाइ छ।
डेढ दशकदेखि अलपत्र अर्को सिमेन्ट उद्योग
कर्णालीमा ठूला उद्योग सञ्चालन हुन नसकेको अर्को उदाहरण सुर्खेत सिमेन्ट (चौकुने) उद्योग पनि हो। चार दशकअघि अध्ययन गरिएको उक्त उद्योग सञ्चालनको जिम्मा २०६६ सालमा मुक्तिश्री प्रालिलाई दिइएको थियो।
तर अनुमति पाएको डेढ दशक बितिसक्दा पनि उद्योग स्थापना हुन सकेको छैन। उद्योग स्थलमा सम्पर्क कार्यालय स्थापना गरिए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन।
कर्णालीमा ठूला उद्योग शून्य
कर्णाली प्रदेशमा हालसम्म एउटा पनि ठूला उद्योग सञ्चालनमा आउन सकेको छैन। लगानी सुरक्षित नहुनु, स्पष्ट औद्योगिक नीति नबन्नु र पूर्वाधार अभावका कारण लगानीकर्ता आकर्षित हुन नसकेको बताइन्छ।
प्रदेश सरकार प्रभावकारी औद्योगिक नीति निर्माणमा कमजोर देखिएको आरोप पनि लाग्दै आएको छ।
३० हजारभन्दा बढी साना उद्योग, तर अधिकांश संकटमा
प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार कर्णालीमा ३० हजार ८३२ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन्। ती उद्योग सेवा, उत्पादन, वनपैदावर, पर्यटन तथा ऊर्जामा आधारित छन्।
सबैभन्दा धेरै उद्योग सुर्खेतमा रहेका छन्। सुर्खेतमा १० हजार ८३९ उद्योग सञ्चालनमा छन्।
त्यस्तै दैलेखमा ३ हजार ४४२, जुम्लामा २ हजार ९५४, मुगुमा २ हजार ४२२, हुम्लामा २ हजार ३००, जाजरकोटमा २ हजार २५२, रुकुमपश्चिममा १ हजार ७४७, सल्यानमा १ हजार ७०६, कालीकोटमा १ हजार ५९१ र डोल्पामा १ हजार ५६९ उद्योग दर्ता भएका छन्।
निर्देशनालयका निर्देशक देवीलाल सापकोटाका अनुसार नयाँ उद्योग खुल्ने र बन्द हुने क्रम दैनिकजसो बढिरहेको छ। “साना उद्योग टिकाउन पनि चुनौती बढ्दै गएको छ,” उहाँले बताउनुभयो।
