काठमाडौं : नेकपा एमालेले भिआइपीहरूको उपचारमा राज्यकोषबाट कानुनविपरीत खर्च गरिएको रकम ब्याजसहित सरकारलाई फिर्ता गरेको खुलेको छ। उक्त रकम एमालेले आफ्नै पार्टी कोषबाट भुक्तानी गरेको पाइएको छ।
प्राप्त चेकअनुसार एमालेले गत वैशाख २५ गते ०१२९२०४२५३०२०१ नम्बरको चेकमार्फत ३ करोड ६७ लाख ६० हजार ५८९ रुपैयाँ सरकारको खातामा जम्मा गरेको देखिएको छ।
फिर्ता गरिएको रकम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति रामवरण यादव तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा खर्च भएको रकम रहेको बताइएको छ। परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी गरिएको उक्त खर्च जनस्वास्थ्य ऐन २०७५ को दफा ३० विपरीत भएको भन्दै बेरुजुमा परेको थियो।
स्रोतका अनुसार कानुनविपरीत उपचार खर्च भुक्तानी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ। छानबिन टुंगिनुअघि नै एमालेले पार्टी कोषबाट रकम फिर्ता गरेको हो।
एमालेले तत्कालीन प्रधानमन्त्री ओलीको उपचारमा खर्च भएको २ करोड ६३ लाख २९ हजार २८५ रुपैयाँ ब्याजसहित परराष्ट्र मन्त्रालयको खातामा दाखिला गरेको पाइएको छ। राष्ट्रिय वाणिज्य बैंकमा रहेको पार्टी खाताबाट ९७६९०४९५ नम्बरको भौचरमार्फत उक्त रकम फिर्ता गरिएको हो।
त्यस्तै, पूर्वराष्ट्रपति रामवरण यादवको उपचारमा खर्च भएको ४४ लाख २७ हजार ५०० रुपैयाँ भौचर नम्बर ९७६९०६४४ मार्फत ब्याजसहित फिर्ता गरिएको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारबापत खर्च भएको ६० लाख ३ हजार ८०४ रुपैयाँ पनि एमालेले भौचर नम्बर ११०८५७८० मार्फत ब्याजसहित सरकारलाई फिर्ता गरेको स्रोतले जनाएको छ।
भिआइपी उपचार खर्च पार्टीको लेबीबाट तिरिएको विषयलाई लिएर एमालेभित्रै असन्तुष्टि बढेको छ। शुक्रबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्टले यस विषयमा नेतृत्वसँग प्रश्न उठाएका थिए।
‘कानुनविपरीत खर्च भएको थियो भने त्यतिबेला किन गरियो ? अहिले फेरि पार्टीको कोषबाट तिर्नु कत्तिको जायज हो ?’ भन्दै विष्टले नेतृत्वसँग जवाफ मागेको एक पदाधिकारीले बताए।
बैठकमा विष्टले अध्यक्ष ओलीसँग स्पष्ट जवाफ मागे पनि कुनै प्रतिक्रिया नआएको स्रोतको दाबी छ ।
एमालेका केही नेताहरूले विगतमा सरकार प्रमुख हुँदा भएका निर्णयको भार पार्टीका कार्यकर्ताले बुझाउने लेबीमा पार्नु न्यायोचित नभएको टिप्पणी गरेका छन्। अर्कोतर्फ, केही नेताहरूले बाह्य स्रोतबाट रकम जम्मा गरेर पार्टीमार्फत सरकारलाई फिर्ता गरिएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्।
