२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • सिद्धबाबा सुरुङमार्गबाट असोजदेखि सवारी सञ्चालन गर्ने...

सिद्धबाबा सुरुङमार्गबाट असोजदेखि सवारी सञ्चालन गर्ने लक्ष्य, ६८ प्रतिशत काम सम्पन्न

सिद्धबाबा सुरुङमार्गबाट असोजदेखि सवारी सञ्चालन गर्ने लक्ष्य, ६८ प्रतिशत काम सम्पन्न

सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
  • भैरहवा । पहिरो र चट्टान खस्ने उच्च जोखिमका कारण वर्षौंदेखि त्रासपूर्ण यात्रा बन्ने गरेको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्र अब सुरक्षित यात्रातर्फ उन्मुख भएको छ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले भौतिकतर्फ ६८ प्रतिशत प्रगति हासिल गर्दै आगामी असोजदेखि सुरुङमार्गबाट सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको यो परियोजनाको वित्तीय प्रगति हालसम्म ५८ प्रतिशत पुगेको आयोजनाका प्रमुख राजेश पौडेलले जानकारी दिए । पाँच वर्षे निर्माण अवधिसहित सुरु गरिएको आयोजनामा इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमार्फत काम भइरहेको छ । यस मोडलअन्तर्गत डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ ।

    आयोजनाका अनुसार सुरुङ सञ्चालनमा आएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ । त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) लागू हुनेछ ।

    सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बर्खायाममा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा मानवीय क्षति हुने समस्या दोहोरिने गरेको छ । यही जोखिम न्यूनीकरणलाई मुख्य लक्ष्य बनाएर सुरुङमार्ग निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो परियोजनाको उद्देश्य दूरी छोट्याउनु भन्दा पनि यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्नु हो ।

    आयोजनाको प्रारम्भिक चरणमा भने कानुनी तथा प्राविधिक जटिलताले निर्माण कार्य प्रभावित भएको थियो । नेपालमै पहिलो पटक प्रयोग गरिएको इपिसी मोडलका कारण डकुमेन्टेसनमा समस्या देखिएको थियो भने रुख कटान अनुमति, बजेट व्यवस्थापनलगायतका कारण निर्माणले अपेक्षित गति लिन सकेको थिएन । अहिले ती अधिकांश समस्या समाधानउन्मुख रहेको आयोजनाले जनाएको छ ।

    सुरुङसँगै सडक तथा भिर संरक्षणका कामसमेत अघि बढाइएको छ । सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा थप सुरक्षित संरचना निर्माण गरिनेछ । पैदलयात्रुका लागि सुरक्षित पैदलमार्ग निर्माण गर्नुका साथै बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने योजना पनि रहेको आयोजनाले जनाएको छ ।

    सुरुआती अनुमान अनुसार करिब १० अर्ब रुपैयाँ लागत लाग्ने भनिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब सात अर्ब रुपैयाँमा सम्झौता गरिएको थियो । आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको यात्रा थप सुरक्षित, सहज र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend