२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • एमालेभित्र नेतृत्व विवाद चर्कियो, ओलीलाई मार्गप्रशस्त...

एमालेभित्र नेतृत्व विवाद चर्कियो, ओलीलाई मार्गप्रशस्त गर्न १२ पदाधिकारीको दबाब

एमालेभित्र नेतृत्व विवाद चर्कियो, ओलीलाई मार्गप्रशस्त गर्न १२ पदाधिकारीको दबाब

सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
सहर्ष न्युज
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर आन्तरिक विवाद तीव्र बन्न थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्न उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आग्रह गरेपछि एमालेभित्र शक्ति संघर्ष सतहमा आएको हो ।

    गत साता भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर पौडेल र पोखरेलले ओलीलाई अध्यक्ष पद छाडेर ‘अभिभावक’ भूमिकामा बस्न सुझाव दिएका थिए । २१ फागुनमा भएको निर्वाचनपछि एमाले इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्षसहित उनीहरूले नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याएका थिए । तर ओलीले उक्त प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।

    गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका ओलीले उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा हटाएर नेतृत्व निरन्तरता दिएका थिए । अहिले आफ्नै निकट नेताहरूले नेतृत्व परिवर्तनको विषय उठाएपछि ओलीमाथि दबाब बढेको बताइएको छ ।

    यसबीच ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता फुकुवा गर्दै आफ्नो पक्ष बलियो बनाउन रणनीतिक कदम चालेको एमाले नेताहरूको भनाइ छ । भण्डारी निकट नेताहरूलाई आफ्नो पक्षमा राख्ने उद्देश्यले उक्त निर्णय गरिएको दाबी गरिएको छ ।

    ‘जेन–जी आन्दोलन’पछि नेतृत्वमाथि प्रश्न

    एमाले नेताहरूले जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको ‘हठ’ का कारण ठूलो मानवीय क्षति भएको र त्यसपछिको निर्वाचन परिणामले पार्टी कमजोर बनेको निष्कर्ष निकालेका छन् । उनीहरूले त्यसको नैतिक जिम्मेवारी लिएर ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क गरेका छन् ।

    तर ओलीले भने चुनावी हारका लागि आफू जिम्मेवार नरहेको बताएका छन् । पदाधिकारी बैठकमा उनले उम्मेदवारहरूले पार्टीले अघि सारेको एजेन्डालाई प्रभावकारी रूपमा कार्यान्वयन नगरेकाले अपेक्षित परिणाम नआएको बताएका थिए ।

    पदाधिकारीमै ओली अल्पमतमा

    एमालेका १९ पदाधिकारीमध्ये १२ जनाले नेतृत्व हस्तान्तरणको पक्षमा मत राखेका छन् । उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव रघुवीर महासेठ र योगेश भट्टराई तथा सचिवहरू खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, शेरधन राई र हिक्मतकुमार कार्की नेतृत्व पुनर्गठनको पक्षमा खुलेका छन् ।

    यता उपाध्यक्ष रामबहादुर थापा तथा सचिवहरू यामलाल कँडेल र महेश बस्नेत भने संकटका बेला नेतृत्व बलियो बनाउनुपर्ने भन्दै ओलीको पक्षमा उभिएका छन् । सचिव भानुभक्त ढकाल र राजन भट्टराई तटस्थ देखिएका छन् ।

    ‘विशेष महाधिवेशन’ को विकल्प

    नेतृत्व परिवर्तनको माग बढेपछि एमालेभित्र विशेष महाधिवेशनको चर्चा समेत सुरु भएको छ । तर ओलीले पार्टी विधानअनुसार विशेष महाधिवेशनबाट मात्रै नेतृत्व परिवर्तन सम्भव हुने भन्दै आफूलाई हटाउन नसकिने बताएका छन् ।

    एमाले विधानअनुसार दुई तिहाइ जिल्ला कमिटी वा बहुमत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ । त्यसका लागि करिब १ हजार १ सय ३२ प्रतिनिधिको समर्थन आवश्यक पर्छ ।

    हाल केन्द्रीय कमिटीमा ओलीको प्रभाव कायम रहेकाले तत्काल नेतृत्व परिवर्तन सहज नभए पनि पार्टीभित्रको अन्तरसंघर्ष अझ तीव्र हुने संकेत देखिएको एमाले नेताहरू बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend