हेटौँडा : मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा माछा उत्पादन वृद्धि गर्ने उद्देश्यले दुई लाखभन्दा बढी माछाका भुरा छाडिएको छ।
मत्स्य विकास केन्द्र, कुलेखानीले रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प जातका दुई लाख छ हजार फ्राइ तथा फिङ्गर साइजका भुरा जलाशयमा छाडेको जनाएको छ।
केन्द्रका प्रमुख तथा मत्स्य विकास अधिकृत भीमदत्त भट्टका अनुसार इन्द्रसरोवर क्षेत्रमा प्राकृतिक रूपमा तापक्रम अनुकूल नहुँदा माछाका भुरा उत्पादन हुन कठिन भएकाले हरेक वर्ष कृत्रिम रूपमा भुरा छाड्ने गरिएको हो।
जलाशयमा रहेका माछा वयस्क नहुँदै समातिने प्रवृत्तिले प्राकृतिक प्रजनन प्रक्रियामा असर परेको भन्दै केन्द्रले माछा संरक्षण र उत्पादन वृद्धिका लागि नियमित रूपमा भुरा हाल्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
चालु आर्थिक वर्षमा बागमती प्रदेशका विभिन्न प्राकृतिक जलाशयमा चार लाख माछाका भुरा छाड्ने लक्ष्य रहेको पनि कार्यालयले जानकारी दिएको छ। कुलेखानीमा केजमा पालन गरिएका माछा बिक्री भएपछि पुनः नयाँ फ्राइ साइजका भुरा हालिने बताइएको छ।
इन्द्रसरोवर नेपालकै ठूला मानवनिर्मित जलाशयमध्ये एक हो। विद्युत् उत्पादनका लागि कुलेखानी खोलामा बाँध निर्माण गरी बनाइएको यस जलाशयमा विभिन्न खोलाबाट पानी सङ्कलन हुने गर्दछ। समुद्री सतहबाट करिब एक हजार पाँच सय मिटर उचाइमा रहेको जलाशय वर्षायाममा २१६ हेक्टर क्षेत्रफलमा फैलिने गरेको छ।
विद्युत् उत्पादनसँगै स्थानीयलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने उद्देश्यले यहाँ लामो समयदेखि केजमा माछापालन हुँदै आएको छ। विसं २०४५ देखि निजीस्तरमा सुरु भएको माछापालन पछि इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घमार्फत विस्तार गरिएको हो। हाल जलाशयमा वार्षिक ५० देखि १५० मेट्रिक टनसम्म माछा उत्पादन हुँदै आएको छ।
कार्यालय प्रमुख भट्टले पछिल्लो समय जलाशयमा माछाको सङ्ख्या घट्दै गएको भन्दै माछामा निर्भर समुदायको जीविकोपार्जन संरक्षणका लागि नियमित रूपमा भुरा छाड्ने गरिएको बताउनुभयो।
यद्यपि, पछिल्लो समय इन्द्रसरोवर र थाहा क्षेत्रका तरकारी खेतीमा अत्यधिक विषादी प्रयोग हुँदा बर्खासँगै बगेर आउने प्रदूषित पानीले जलाशयको पारिस्थितिक प्रणालीमा असर पार्न थालेको सरोकारवालाले बताएका छन्।
