२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • पाँच दशकपछि पोखरा बसपार्क निर्माणले गति...

पाँच दशकपछि पोखरा बसपार्क निर्माणले गति लिँदै, जग्गा अपचलनबारे न्यायिक छानबिन हुने

पाँच दशकपछि पोखरा बसपार्क निर्माणले गति लिँदै, जग्गा अपचलनबारे न्यायिक छानबिन हुने

सहर्ष न्युज
आइतवार, जेठ १० २०८३
सहर्ष न्युज
आइतवार, जेठ १० २०८३
  • लेखनाथ : पोखराको पृथ्वीचोकमा २०३२ सालदेखि सुरु भएको बसपार्क निर्माण अभियान पाँच दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। बसपार्कका लागि अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले २६ रोपनी मात्र खाली अवस्थामा रहेको छ भने बाँकी जग्गा सट्टाभर्ना, बिक्री तथा अव्यवस्थित बसोबासका कारण विवादमा परेको छ।

    बसपार्कको जग्गा अपारदर्शी रूपमा वितरण तथा बिक्री गरिएको विषयमा अब न्यायिक छानबिन हुने भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले जग्गा सट्टापट्टा, लालपुर्जा वितरण तथा बिक्री प्रक्रियाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिने जानकारी दिनुभयो।

    उहाँका अनुसार केही व्यक्तिले नपाउनुपर्ने सुविधा प्राप्त गरेको, असमानता भएको तथा प्रक्रियामा कमीकमजोरी भएको गुनासो आएपछि छानबिनको तयारी गरिएको हो।

    महानगरले बहुप्रतीक्षित पोखरा बसपार्क निर्माणलाई अघि बढाउन अधिग्रहण गरिएको सम्पूर्ण जग्गा खाली गराउने अभियान पनि सुरु गरेको छ। यसअघि जारी गरिएको ३५ दिने सूचनाको म्याद सकिएपछि शनिबार पुनः १५ दिने सूचना प्रकाशित गरिएको छ।

    छलफलपछि बसपार्क क्षेत्रमा रहेका जग्गाधनीहरू १५ दिनभित्र सटर, कबल तथा अन्य संरचना हटाउन सहमत भएका छन्। पोखरा उपत्यका नगर विकास समितिले जग्गाधनी पुर्जा भएका क्षेत्रमा रहेका पसल, कम्प्लेक्स र पेट्रोल पम्पसमेत हटाउन निर्देशन दिएको छ।

    बसपार्क क्षेत्रमा अहिले पाँच सय ७५ सुकुम्बासी तथा भूमिहीन परिवारले विवरण दर्ता गराएका छन्। महानगरले वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्दै बसपार्क निर्माण प्रक्रिया अघि बढाइने जनाएको छ।

    राजमार्गसँग जोडिएको बहुमूल्य बसपार्कको जग्गामध्ये सट्टाभर्नाबापत २० रोपनी पाँच आना र सहुलियतमा १६ रोपनी १४ आना जग्गा बिक्री भएको तथ्य सार्वजनिक भएको छ। हाल पोखरा उपत्यका नगर विकास समितिसँग एक सय ४८ रोपनी १२ आनाको मात्र स्वामित्व रहेको छ, जसको अधिकांश भागमा सुकुम्बासीका टहरा बनेका छन्।

    २०३६ सालतिर सुरु भएको सुकुम्बासी बसोबास अहिले पाँच वटा टोलमा विस्तार भएको छ। अधिकांश घर अस्थायी भए पनि केही पक्की भवनसमेत निर्माण भएका छन्। क्षेत्रमा बिजुली, पानी र ढलान सडकको सुविधा समेत पुगेको छ।

    विभिन्न अध्ययनअनुसार समितिको स्वामित्वमा रहेको जग्गाबाट दुई चरणमा गरी ४८ वटा घडेरी व्यक्तिलाई बिक्री गरिएको थियो। बिक्री गरिएका केही घडेरीमा टहरा बनाएर भाडामा लगाइएको समेत पाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend