अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाअन्तर्गत राप्ती नदीमाथि निर्माणाधीन पक्की पुल एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्ती र लापर्बाहीका कारण लुम्बिनी प्रदेशको राजधानीसँग जोड्ने महत्वपूर्ण पुल अलपत्र अवस्थामा पुगेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीले लामो दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केही स्थानीय भने जोखिम मोलेर अधुरो पुलबाटै आवतजावत गर्न बाध्य छन् ।
हिउँदयाममा सवारीसाधन नदी हुँदै वारपार गराइने गरिएको भए पनि बर्खायाम सुरु भएसँगै नदीमा पानीको बहाव बढ्दा आवागमन पूर्ण रूपमा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
देविराम घिमिरे ले केही समयअघि निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर आंशिक काम गराउन सफल भए पनि फेरि विभिन्न बहाना बनाउँदै काम रोकिएको जानकारी दिए । उनका अनुसार पुलका दुवैतर्फ सडक निर्माणका महत्वपूर्ण काम अझै बाँकी छन् ।
करिब २६ करोड रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो । तर, लामो समयसम्म काम पूरा नहुँदा स्थानीयमा निराशा बढ्दै गएको छ ।
निर्माण कम्पनी सिएबी कन्स्ट्रक्सनका ठेकेदार गणेश चन्द ले विभिन्न प्राविधिक तथा अन्य समस्याका कारण समयमै काम सम्पन्न गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । उनले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बाँकी काम छिट्टै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
