रुकुमपश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले सेवाग्राहीलाई घर ठेगानामै राहदानी उपलब्ध गराउने नयाँ व्यवस्था लागू गरेको छ। सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले प्रशासन कार्यालयले हुलाकमार्फत राहदानी वितरण सेवा सुरु गरेको हो।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नम्बर २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार राहदानी पुनः प्राप्त गर्न सेवाग्राहीलाई कार्यालयसम्म आउनुपर्ने झन्झट, समय र खर्च कम गर्न यो व्यवस्था लागू गरिएको हो। सीमित स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै नागरिकलाई छिटो, छरितो र सुरक्षित सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए।
सम्झौताअनुसार राहदानी आवेदनका क्रममा सेवाग्राहीले उल्लेख गरेको ठेगानामै नेपाल हुलाक सेवामार्फत राहदानी सुरक्षित रूपमा पुर्याइनेछ। हुलाक कार्यालयले राहदानीको सुरक्षित ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिएको छ।
प्रमुख जिल्ला अधिकारी गौतम र हुलाक अधिकृत कुमारी रिमा मल्लबीच भएको सम्झौतामा सरकारी कागजातको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिने उल्लेख गरिएको छ। राहदानी सङ्कलन तथा वितरणका क्रममा आउने समस्या आपसी समन्वयमार्फत तत्काल समाधान गरिने प्रतिबद्धता पनि दुवै पक्षले जनाएका छन्।
समझदारी कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयले राहदानीको सूची र वितरणसम्बन्धी विवरण हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ। हुलाकमार्फत राहदानी लिन चाहने सेवाग्राहीले प्रतिगोटा ५५ रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। हुलाक कार्यालयले आवश्यक फारामको व्यवस्था गरी राहदानीलाई रजिस्ट्री हुलाक सरह सुरक्षित रूपमा वितरण गर्ने जनाएको छ।
यसअघि राहदानी लिन सेवाग्राही आफैँ जिल्ला सदरमुकामस्थित कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले विशेषगरी ग्रामीण तथा विकट क्षेत्रका नागरिकलाई समय, खर्च र झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रशासन कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना र मोबाइल नम्बर स्पष्ट तथा सही रूपमा उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।
