काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा विशेष सुविधा दिएको आशंकामा प्रहरीले छानबिन थालेको छ।
ललितपुरस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका अग्रवालको साथबाट आइप्याड फेला परेपछि उपत्यका प्रहरी कार्यालय ले घटनाबारे अनुसन्धान अघि बढाएको हो।
उपत्यका प्रहरी कार्यालयका अनुसार डिआइजी ओम अधिकारी को नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले जेठ १ गते शुक्रबारदेखि घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेका अग्रवाललाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो। हिरासतमा रहेको क्रममा जिल्ला प्रहरी परिसरले नै अग्रवालसँग रहेको आइप्याड बरामद गरी उपत्यका प्रहरी कार्यालयलाई जिम्मा लगाएको स्रोतले जनाएको छ।
छानबिन समितिले हिरासत सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग सोधपुछ गरिरहेको छ। अग्रवाललाई अन्य थुनुवाभन्दा फरक कोठामा राखिएको तथा अतिरिक्त सुविधा दिइएको भन्दै उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको बताइएको छ।
यसबीच, छानबिन सुरु भएपछि अग्रवाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्रोतको दाबी छ।
सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान भइरहेका अर्का आरोपी दीपक भट्ट लाई भने प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ।
हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान विभागले दुवै जनामाथि अनुसन्धान गरिरहेको छ।
शंकर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ गते नियन्त्रणमा लिइएको थियो भने व्यवसायी दीपक भट्टलाई चैत १९ गते सीआईबीले पक्राउ गरी अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
