काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार तीन वटा सहकारी संस्थाका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारीका ७ जना साना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका हुन्।
समितिले पहिलो दिन कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको जनाएको छ। आगामी दिनमा भने बचत रकमको आधारमा वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत भएकालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको छ। कुल बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या करिब १८ हजार रहेको समितिले जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्तासँगै सहकारीहरूको ऋण असुली प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको जानकारी दिइन्। उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरिएपछि ऋण तिर्न आउने क्रम बढेको छ।
समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। समितिले ऋण असुली र बचत फिर्ताको काम सँगसँगै अघि बढाइने जनाएको छ।
