२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • सुनसरी–मोरङ सिंचाइ आयोजनाको अतिक्रमित २७३३ संरचना...

सुनसरी–मोरङ सिंचाइ आयोजनाको अतिक्रमित २७३३ संरचना हटाउन प्रशासनसँग आग्रह

सुनसरी–मोरङ सिंचाइ आयोजनाको अतिक्रमित २७३३ संरचना हटाउन प्रशासनसँग आग्रह

सहर्ष न्युज
आइतवार, जेठ ३ २०८३
सहर्ष न्युज
आइतवार, जेठ ३ २०८३
  • सुनसरी : सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघाभन्दा बढी सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ। आयोजनाका अनुसार अतिक्रमित १११ बिघा ५ कट्ठा ३ धुर क्षेत्रफलमा २ हजार ७३३ वटा घर, भवन, मन्दिर, आश्रम, कुटी तथा टहरा निर्माण गरिएका छन् ।

    आयोजनाले अतिक्रमित जग्गा खाली गराई अनधिकृत संरचना हटाउन सुनसरी र मोरङका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। प्रशासनलाई बुझाइएको पत्रमा अतिक्रमित स्थानको पहिचान, संरचना निर्माण गर्ने व्यक्तिको नाम–ठेगाना र अतिक्रमित क्षेत्रफलसमेत उल्लेख गरिएको छ।

    बराहक्षेत्र नगरपालिकास्थित कोशी नयाँपुलदेखि मोरङको बुधनगरसम्म फैलिएको ५३ किलोमिटर लामो मूल नहर, २०३ किलोमिटर शाखा तथा उपशाखा नहर र २३४ किलोमिटर साना शाखा नहर आसपासका सरकारी जग्गामा अनधिकृत संरचना बनाइएको आयोजनाको निष्कर्ष छ।

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तेज रिजालले हस्ताक्षर गरेको पत्रमा सरकारी जग्गा अतिक्रमण गरी सिंचाइ प्रणालीमा क्षति पुर्‍याउनेमाथि कानुनअनुसार कारबाही गर्न प्रशासनसँग आग्रह गरिएको छ।

    पत्रको बोधार्थ जलस्रोत तथा सिँचाइ विभागलाई पनि पठाइएको छ ।

    सुनसरी–मोरङ सिंचाइ आयोजना देशकै पुरानो तथा ठूलो सिंचाइ आयोजना हो ।

    चतरामा सबैभन्दा बढी अतिक्रमण

    आयोजनाको तथ्याङ्कअनुसार सबैभन्दा बढी अतिक्रमण बराहक्षेत्रको चतरा मूल नहर क्षेत्रमा भएको छ। चतरा मूल नहरको मात्रै ५१ बिघा ८ कट्ठा १ धुर जग्गामा २८४ वटा घर तथा संरचना निर्माण भएका छन्।

    सुनसरीतर्फका ११ वटा नहर प्रणालीमा १ हजार ७७४ वटा घरटहरा निर्माण हुँदा ८१ बिघाभन्दा बढी क्षेत्रफल अतिक्रमण भएको छ। मोरङतर्फका ९ वटा नहर प्रणालीमा ९५९ वटा संरचना बनेका छन्, जसले ३० बिघा बढी क्षेत्र ओगटेको आयोजनाले जनाएको छ।

    आश्रम, मठ र धार्मिक संरचनासमेत सरकारी जग्गामा

    आयोजनाका अनुसार चतरास्थित सरकारी जग्गामा विभिन्न धार्मिक तथा सामुदायिक संरचनासमेत निर्माण गरिएका छन्।

    धर्मगुरु बालसन्त मोहनशरण देवाचार्य ले आश्रम, धर्मशाला र मन्दिर निर्माणका नाममा २ बिघा ४ कट्ठा जग्गा अतिक्रमण गरेको आयोजनाको दाबी छ।

    त्यस्तै सिद्धबाबाका रूपमा चिनिने कृष्णबहादुर गिरीले करिब ८ बिघा सरकारी जग्गामा बहुमूल्य संरचना निर्माण गरेको आरोप लगाइएको छ। आयोजनाका अनुसार उनले ८ वर्षअघि करिब ८ करोड रुपैयाँ लागतमा १२८ कोठे वातानुकूलित भवन निर्माण गरेका थिए।

    उक्त भवनको एक भागमा ‘जगद्गुरु श्री रामानन्दाचार्य गुरुकुल’ सञ्चालन भइरहेको उल्लेख गरिएको छ। आयोजनाले भवनमुनि नहर प्रणालीका पाइपलाइन रहेको जानकारी हुँदाहुँदै निर्माण गरिएको दाबी गरेको छ।

    यसैगरी रामशान्ति कुञ्ज महिला आश्रम, विभिन्न गुम्बा, मठ, सामुदायिक भवन तथा वंशसम्बन्धी संरचनासमेत आयोजनाको जग्गामा निर्माण गरिएको तथ्याङ्कमा उल्लेख छ।

    विभिन्न नहर क्षेत्रमा सयौं घर निर्माण

    आयोजनाका अनुसार विराटनगर शाखा नहर क्षेत्रमा मात्रै ४६१ वटा घर निर्माण भएका छन् भने रामगञ्ज शाखा नहर क्षेत्रमा २५४ र सीतागञ्ज शाखा नहर क्षेत्रमा २०९ वटा घर बनेका छन्।

    त्यस्तै दुहवी, शंकरपुर, सिंगिया, गौतमपुर, इनरुवा, होलैया लगायतका शाखा तथा माइनर नहर क्षेत्रमा पनि सयौं घर तथा टहरा निर्माण गरिएको आयोजनाले जनाएको छ।

    आयोजनाले अतिक्रमण हटाउन प्रशासनिक पहलको माग गर्दै सिंचाइ पूर्वाधार संरक्षणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend