२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • गर्मी बढेसँगै अण्डाको मूल्य उकालो ...

गर्मी बढेसँगै अण्डाको मूल्य उकालो लागेर प्रतिगोटा २५ रुपैयाँ कायम

गर्मी बढेसँगै अण्डाको मूल्य उकालो लागेर प्रतिगोटा २५ रुपैयाँ कायम

सहर्ष न्युज
आइतवार, जेठ ३ २०८३
सहर्ष न्युज
आइतवार, जेठ ३ २०८३
  • काठमाडौं : गर्मी मौसमसँगै अण्डा उत्पादन घटेपछि बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबार अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो।

    सङ्घका अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिकरेट (३० वटा) ५१५ रुपैयाँ र मध्यम अण्डाको ४८५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि ठूलो अण्डा ४८५ रुपैयाँ र मध्यम अण्डा ४३५ रुपैयाँमा कारोबार हुँदै आएको थियो।

    सङ्घका सचिव मदन पोखरेल का अनुसार नयाँ मूल्यअनुसार उपभोक्ताले अण्डा प्रतिगोटा २५ रुपैयाँसम्म तिर्नुपर्नेछ।

    सङ्घका अध्यक्ष विनोद पोखरेल ले गर्मीका कारण उत्पादन घट्नु, कुखुरामा रोग फैलिनु तथा किसान पलायन बढ्नुले बजारमा अण्डाको अभाव सिर्जना भएको बताए। उनका अनुसार दुई दिने बिदाका कारण पर्यटक आगमन बढ्दा खपत पनि बढेको छ।

    ‘किसान कुखुरापालन व्यवसायबाट पलायन भइरहेका छन्। जनशक्तिको अभाव छ, विभिन्न रोगका कारण कुखुरा मरेका छन्, जसले उत्पादनमा प्रत्यक्ष असर परेको छ,’ अध्यक्ष पोखरेलले भने।

    उनले अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पुगे पनि किसानले अझै लागतअनुसार मूल्य पाउन नसकेको दाबी गरे।

    सङ्घले विभिन्न कृषि फार्मले तोकेको मूल्यलाई आधार मानेर समर्थन मूल्य तय गर्दै आएको जनाएको छ।

    नवलपरासी, चितवन, विराटनगर, वीरगञ्ज, जनकपुर, दाङ, कैलाली, झापा लगायतका प्रमुख पोल्ट्री फार्महरूले ठूलो अण्डाको मूल्य प्रतिपेटी करिब ३ हजार ९५० देखि ३ हजार ९८० रुपैयाँसम्म र मध्यम अण्डाको मूल्य ३ हजार ७५० देखि ३ हजार ७८५ रुपैयाँसम्म कायम गरेका छन्। एउटा पेटीमा सात क्रेट अर्थात् २१० वटा अण्डा रहने सङ्घले जनाएको छ।

    व्यवसायीहरूका अनुसार पछिल्ला केही वर्षयता लागतअनुसार मूल्य नपाउँदा किसान कुखुरापालन व्यवसाय छाड्न बाध्य भएका छन्। उत्पादन घट्नु, रोगको प्रकोप बढ्नु र बैंक ऋणको भारले पोल्ट्री व्यवसाय संकटमा पर्दै गएको उनीहरूको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend