२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • काठमाडौँ महानगर–२२ मा सांस्कृतिक महोत्सव :...

काठमाडौँ महानगर–२२ मा सांस्कृतिक महोत्सव : नेवार परम्परा, स्थानीय उत्पादन र सम्पदाको भव्य प्रदर्शनी

काठमाडौँ महानगर–२२ मा सांस्कृतिक महोत्सव : नेवार परम्परा, स्थानीय उत्पादन र सम्पदाको भव्य प्रदर्शनी

सहर्ष न्युज
आइतवार, जेठ ३ २०८३
सहर्ष न्युज
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ ले सांस्कृतिक, धार्मिक तथा परम्परागत सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा विशेष महोत्सव आयोजना गरेको छ। नयाँ सडकस्थित ऐतिहासिक पिपलबोट परिसरमा आयोजित महोत्सवमा नेवार समुदायका परम्परागत खाना, बाजागाजा, हस्तकला, चित्रकला तथा स्थानीय उत्पादनहरूको आकर्षक प्रदर्शनी गरिएको हो ।

    महोत्सवमा वडा नं. २२ का धार्मिक एवं सांस्कृतिक सम्पदासम्बन्धी चित्रकला, स्थानीय कलाकारका सिर्जना तथा यस क्षेत्रमा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको फोटोसहित परिचय प्रस्तुत गरिएको थियो। इतिहासविद् महेशराज पन्त, नयराज पन्त, दिनेशराज पन्त, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, ऋद्धिबहादुर मल्ल, शिक्षाविद् सत्यनारायणबहादुर श्रेष्ठ, साहित्यकार हरि श्रेष्ठ, विजय मल्ल तथा सङ्गीतकार द्वारिकालाल जोशीलगायतका व्यक्तित्वलाई विशेष रूपमा समेटिएको थियो।

    वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले महोत्सवले अमूर्त सम्पदाको संरक्षण, प्रचारप्रसार तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो। उहाँका अनुसार स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन एकै स्थानमा प्रदर्शन तथा बिक्री गर्ने अवसर प्राप्त भएको छ।

    महोत्सवकै अवसरमा नेपाल भाषा संरक्षण अभियन्ता दिवंगत सर्जक सुरेशकिरणको स्मृतिमा नेपाल भाषामा कविता वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो। शनिवारीय चित्रकला अभियानका अभियन्ता तथा कलाकार दिवेश प्रधानले वडा नं. २२ को सम्पदालाई चित्रमार्फत प्रस्तुत गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँका अनुसार यसअघि सञ्चालन गरिएको सम्पदा चित्रकला कार्यशालामा सिर्जना गरिएका चित्रहरू पनि प्रदर्शनीमा राखिएका छन्।

    महोत्सवका मुख्य आकर्षणमा नेवार परम्परागत परिकारका स्टल, सांस्कृतिक झाँकी तथा र्‍याली, साङ्गीतिक प्रस्तुति, क्यान्सर सचेतनामूलक वाकाथन तथा जुम्बा, हस्तकला एवं घरेलु उत्पादन प्रदर्शनी समावेश रहेका थिए। साथै, रक्तदान कार्यक्रम र बालबालिकाका लागि धर्मपथ क्षेत्रमा फनपार्कको व्यवस्था गरिएको थियो।

    महोत्सव व्यवस्थापनमा सहयोग गरेको माल्टा इन्टरनेसनलका अनुसार नयाँ सडक, टेबहाल, सङ्कटा, सुन्धारा र खिचापोखरी क्षेत्रमा ८० भन्दा बढी स्टल सञ्चालनमा रहेका थिए।

    ‘प्राचीन इतिहासदेखि आधुनिक विकाससम्मका आयामलाई जोड्ने’ मूल नारासहित आयोजित महोत्सवमा प्रतियोगिता तथा प्रदर्शनीसहित १२ विधाका विविध कार्यक्रम समावेश गरिएको वडा कार्यालयले जनाएको छ। स्थानीयवासीले पनि उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना उत्पादन उपभोक्तामाझ पुर्‍याउने अवसरको सदुपयोग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend