२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • रसुवाको धैवुङमा डिपबोरिङ सञ्चालन, पाँच सय...

रसुवाको धैवुङमा डिपबोरिङ सञ्चालन, पाँच सय परिवार लाभान्वित

रसुवाको धैवुङमा डिपबोरिङ सञ्चालन, पाँच सय परिवार लाभान्वित

सहर्ष न्युज
मंगलवार, बैशाख २९ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख २९ २०८३
  • रसुवा । कटुञ्जे मा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका करिब पाँच सय परिवार लाभान्वित भएका छन्।

    बागमती प्रदेश सरकार को २७ लाख रुपैयाँ सहयोगमा सम्पन्न डिपबोरिङ सञ्चालनमा आएपछि कालिका गाउँपालिका–३ अन्तर्गतका कटुञ्जे, श्वारा, घिमिरे टोल, खतिवडा टोल, थाक्ले तथा सुएलडाँडा क्षेत्रका स्थानीयले प्रत्यक्ष लाभ लिन थालेका हुन्।

    गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाका अनुसार खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दालाई डिपबोरिङले ठूलो राहत पुगेको छ। गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पानीको व्यवस्थापनपछि सुख्खा र भिरालो जमिनमा बसोबास गर्ने स्थानीयवासी उत्साहित बनेको बताए।

    भूगर्भशास्त्री पुष्प भट्टराईका अनुसार डिपबोरिङ खन्ने क्रममा जमिनको सतहबाट ४८ मिटरमै पानी फेला परेको भए पनि स्थायी व्यवस्थापनका लागि १३५ मिटर गहिराइसम्म पाइप जडान गरेर पानी निकालिएको हो।

    भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय का प्रमुख केदार श्रेष्ठले खानेपानीसँगै करिब १० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने गरी सञ्चालन गरिएको यो डिपबोरिङ रसुवा जिल्लाकै नमूना कार्यक्रम भएको बताए।

    यसैबीच, प्राविधिकहरूले नियमित विद्युत् महसुल भुक्तानी, मोटर मर्मतसम्भार र दीगो व्यवस्थापनमा ध्यान दिन स्थानीय उपभोक्तालाई आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend