मुक्तिनाथ (मुस्ताङ) । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–स्थित कोरला नाकाको दशगजा क्षेत्रमा पहिलो पटक भूमिगत पानीको व्यवस्थापन सुरु गरिएको छ। प्राकृतिक मुहान नहुँदा स्थानीय व्यवसायी तथा पर्यटकले चरम खानेपानी अभाव झेल्दै आएपछि गाउँपालिकाले ३० लाख रुपैयाँ लागतमा भूमिगत खानेपानी आयोजना अघि बढाएको हो।
ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार कोरला क्षेत्रमा पानीको समस्या गम्भीर बन्दै गएपछि भूमिगत पानीको स्रोत खोज्ने काम थालिएको हो।
“पानी अभाव यहाँ ठूलो समस्या बनेको छ। जीवनका लागि अत्यावश्यक भएकाले यसको समाधान खोज्न भूमिगत मूल पहिचान गर्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष गुरुङले भन्नुभयो।
उहाँका अनुसार जलवायु परिवर्तनका कारण परम्परागत मुहान सुक्दै जाँदा गाउँपालिकाका अन्य बस्तीमा पनि खानेपानी संकट देखिन थालेको छ। कोरला क्षेत्रमा सफल रूपमा भूमिगत पानी भेटिए अन्य बस्तीमा समेत यो प्रविधि विस्तार गर्न सकिने गाउँपालिकाको योजना छ।
लिजी–नेचुङ नाका (कोरला) दशगजा क्षेत्रमा रहेको मुस्ताङ भन्सार कार्यालयको स्वामित्वको जग्गामा गरिएको सर्वेक्षणमा १५० मिटर गहिराइमा पानीको सतह भेटिएको बताइएको छ। हाल सो क्षेत्रमा मेसिनमार्फत ड्रिलिङको काम भइरहेको छ। पानीको स्रोत सुनिश्चित भएपछि ट्याङ्की निर्माण गरी कोरला क्षेत्रमा वितरण गरिने योजना गाउँपालिकाले बनाएको छ।
गाउँपालिकाले आह्वान गरेको बोलपत्रमार्फत एसियन बोरिङ कन्स्ट्रक्सन लिमिटेडले निर्माणको जिम्मा पाएको छ।
स्थानीय व्यवसायी पेमा छिरिङ गुरुङका अनुसार कोरला नाकामा रहेका ७० वटा टेन्टमा करिब १४० व्यवसायी सञ्चालनमा छन्। उनीहरूले खानेपानीका लागि करिब १४ किलोमिटर तल रहेको मुस्ताङ भन्सार कार्यालयबाट सवारीसाधनमार्फत पानी ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।
“तापक्रम ऋणात्मक हुँदा हिउँ सङ्कलन गरेर पानीको प्रयोग गर्नुपर्छ। कहिलेकाहीँ चिनियाँ भन्सार कार्यालयबाट ट्याङ्करमार्फत पानी ल्याउनुपर्ने अवस्था पनि आउँछ,” उनले बताए।
कोरला क्षेत्रमा गाउँपालिकाले छ वटा अस्थायी शौचालय निर्माण गरिसकेको छ भने चीन सरकारले चार वटा पक्की शौचालय निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।
