कोषाध्यक्षमा प्रधान स्वाभाविक आकांक्षी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को हालै सम्पन्न निर्वाचनमा अञ्जन श्रेष्ठ समूहका अधिकांश उम्मेद्वार विजयी भएपछि कार्यकारिणी समितिले चयन गर्ने एकमात्र पद ‘कोषाध्यक्ष’ मा मनिषलाल प्रधानको दाबी बलियो बनेको छ।
अञ्जन श्रेष्ठ समूहका करिब ८० देखि ८५ प्रतिशत उम्मेद्वार विजयी भएको दाबी गर्दै समूहका एक पदाधिकारीले कोषाध्यक्ष पदमा मनिषलाल प्रधान स्वाभाविक आकांक्षी रहेको बताएका छन्। उनका अनुसार विपक्षी समूहबाट उम्मेद्वार नउठ्ने संकेत देखिएकाले प्रधानको चयन लगभग सुनिश्चितजस्तै भएको छ।
उद्योगी–व्यवसायी परिवारबाट आएका मनिषलाल प्रधानलाई निजी क्षेत्रभित्र सहज रूपमा स्वीकार गरिने व्यक्तिका रूपमा हेरिन्छ। उनका पिता महेशलाल प्रधान नेपाल उद्योग वाणिज्य महासंघका दुई कार्यकाल अध्यक्ष रहिसकेका प्रभावशाली व्यवसायी नेता हुन्। निजी क्षेत्रको नेतृत्वमा उनले देखाएको दृढता र प्रभाव अहिले पनि व्यवसायी वृत्तमा स्मरण गरिन्छ।
हालै तुलिप होटलमा आयोजित नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा पूर्व अध्यक्ष तथा पूर्वमन्त्रीसमेत रहेका ८७ वर्षीय महेशलाल प्रधानले अध्यक्ष अञ्जन श्रेष्ठलाई महासंघको आवाज बलियो बनाउन सुझाव दिएका थिए। उनले निजी क्षेत्रको नेतृत्व इतिहासले सम्झिने गरी प्रस्तुत गर्न आग्रह गरेका थिए।
मनिषलाल प्रधानको पारिवारिक व्यवसाय ललितपुर औद्योगिक क्षेत्रमा सञ्चालित ५२ वर्ष पुरानो कपडा उद्योगसँग जोडिएको छ। यही वातावरणमा हुर्किएका उनी बाल्यकालदेखि नै उद्योग, व्यवसाय र चेम्बर आन्दोलनसँग नजिक रहँदै आएका छन्।
वि.सं. २०५५ सालदेखि सक्रिय व्यवसायिक तथा संस्थागत यात्रामा रहेका प्रधान ललितपुर उद्योग वाणिज्य महासंघको प्रथम उपाध्यक्ष भइसकेका छन्। उनले नेपाल उद्योग वाणिज्य महासंघमा बस्तुगत संघबाट एकपटक तथा जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फबाट दुईपटक नेतृत्वको जिम्मेवारी सम्हालिसकेका छन्। साथै महासंघको निर्यात प्रवर्द्धन समितिको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेका छन्।
हिरा तथा जवाहरात व्यवसायमा सक्रिय प्रधान नेपाल जेम्स एन्ड ज्वेलरी संघका पूर्व अध्यक्षसमेत हुन्। व्यवसायिक अनुभव र चेम्बर आन्दोलनमा लामो संलग्नताले उनलाई परिपक्व नेतृत्वका रूपमा स्थापित गरेको व्यवसायीहरू बताउँछन्।
अञ्जन श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिले निजी क्षेत्रमा रूपान्तरणकारी काम गर्नुपर्ने अपेक्षा भइरहेका बेला मनिषलाल प्रधानलाई कोषाध्यक्ष पदका लागि बलियो र लोकप्रिय उम्मेद्वारका रूपमा हेरिएको छ। लामो समयदेखि अञ्जन समूहको रणनीति निर्माण र संगठन विस्तारमा सक्रिय रहेका प्रधान अध्यक्ष श्रेष्ठको पहिलो रोजाइमा पर्ने सम्भावना पनि उच्च रहेको स्रोतको दाबी छ।
