रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित होटल गौतम बुद्ध इन्टरनेशनलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मार्दा १९ जना नेपाली पक्राउ परेका छन्।
गएराति करिब ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सञ्चालन गरेको अपरेशनमा क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र खेल्ने १५ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेहरूमा सिद्धार्थनगर क्षेत्रका अभय कुमार गुप्ता, सुशान्त अधिकारी, सन्जय शाक्य र निक्षेन्द नेपाल रहेका छन्।
त्यसैगरी काठमाडौंका जीवन थापा सहित रुपन्देहीका आकाश गुप्ता, सुनारी मगर, अब्दुल कलाम जोलहा, अभिषेक शर्मा, शिव पाण्डे, रोहन वि.क. (तिल बहादुर वि.क.), सुरज जयसवाल, रमेश यादव, निर्मल बस्याल र भरत थापा पक्राउ परेका छन्।
अन्य पक्राउ पर्नेहरूमा गुल्मीका नेत्र पोख्रेल, ललितपुरका बाबुराजा महर्जन र पर्साको वीरगञ्ज महानगरपालिका–७ का जंगकुमार अग्रवाल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
