काठमाडौं : नेपालको प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै श्रीलंकामा प्रवेश गरेको छ। कम्पनीले त्यहाँको ‘इफेक्टिभ सोलुशन’सँग व्यवसायिक सञ्चार प्रणालीका लागि एआइमा आधारित सेवा उपलब्ध गराउने सम्झौता गरेको हो।
इफेक्टिभ सोलुशन श्रीलंकामा व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न चाहने संस्थालाई सेवा प्रदान गर्दै आएको कम्पनी हो। यो कम्पनी ‘ट्रेस’ नामक सार्वजनिक संस्थामा सूचीकृत रहेको छ, जसले नयाँ व्यवसाय, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आएको छ।
टिङटिङले श्रीलंकामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना पनि अघि बढाइसकेको जनाएको छ। नेपालमा भने कम्पनीले बैंक, बीमा, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने लक्ष्यअनुसार टिङटिङले काम गरिरहेको उल्लेख गरे। त्यस्तै, इफेक्टिभ सोलुशनका निर्देशक हमिन्दा जयवेराले नेपाली कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै यसबाट श्रीलंकाका उद्यमी र सेवा प्रदायकलाई लाभ पुग्ने विश्वास व्यक्त गरे।
हाल श्रीलंकामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, इमेल, वेब च्याट तथा कल सेन्टरमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्ने गरेका छन्, जसका कारण सेवा व्यवस्थापनमा विभिन्न समस्या देखिँदै आएका छन्।
टिङटिङको एआइ प्रणालीले यी सबै माध्यमलाई एउटै प्लेटफर्ममा एकीकृत गर्दै ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया व्यवस्थापन तथा कल सेन्टर सञ्चालनलाई सहज बनाउनेछ। साथै, प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, एआइद्वारा तयार सारांश र प्रत्यक्ष विवरण प्यानलमार्फत सेवा गुणस्तरमा सुधार ल्याउने कम्पनीले जनाएको छ।
