‘ट्रू कलर’ मा प्रहरीको पहिचान देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै रकम असुली
काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गर्दै अनलाइन ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार ब्यूरोको पहिचान प्रयोग गरी सर्वसाधारणसँग रकम असुली गर्ने कार्यमा संलग्न चार जनालाई सुनसरीको धरानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, वडा नं. १३ का २८ वर्षीय सजल राई तथा इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।
अनुसन्धानका क्रममा उक्त गिरोहले ‘ट्रू कलर’ एपमा आफ्नो पहिचान ‘साइबर ब्यूरो’ देखिने गरी सेटअप गरेर सर्वसाधारणलाई फोन गर्ने गरेको खुलेको छ। उनीहरूले फोनमार्फत विभिन्न डर, त्रास तथा प्रलोभनमा पारेर पीडितहरूबाट विद्युतीय माध्यमबाट रकम पठाउन लगाई ठगी गर्ने गरेका थिए।
साइबर ब्यूरोको टोलीले इलाका प्रहरी कार्यालय धरानसँग समन्वय गरी १९ वैशाखमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
ब्यूरोका अनुसार पीडितहरूको निवेदनपछि गरिएको प्राविधिक विश्लेषणबाट उनीहरूको संलग्नता पुष्टि भएको हो। प्रहरीले सरकारी निकायको नाम दुरुपयोग गरी गरिने यस्ता ठगीबाट सचेत रहन र शङ्कास्पद फोन आएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
