२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • राष्ट्रिय गौरवको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ...

राष्ट्रिय गौरवको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा, ५७ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा, ५७ प्रतिशत काम सम्पन्न

सहर्ष न्युज
सोमवार, बैशाख २१ २०८३
सहर्ष न्युज
सोमवार, बैशाख २१ २०८३
  • तनहुँ : राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन यस आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ७५ प्रतिशत पुगेको छ।

    आयोजनाअन्तर्गत मुख्य बाँध र सुरुङ निर्माणले तीव्रता पाएको छ। तीनवटै प्याकेजअन्तर्गतका काम अन्तिम चरणमा पुगेसँगै आयोजना समयमै सम्पन्न हुने अपेक्षा बढेको छ।

    प्याकेज १ अन्तर्गत बाँध तथा हेडवर्क्स निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले लिएको छ, जसमा हालसम्म ५७ प्रतिशत प्रगति भएको छ। बाँध निर्माणका लागि आवश्यक डाँडा कटान, पहुँच सडक, अस्थायी बाँध तथा डाइभर्सन सुरुङको काम यसअघि नै सम्पन्न भइसकेको छ। गत चैत ७ गतेदेखि १४० मिटर अग्लो बाँधका लागि कङ्क्रिटिङ सुरु गरिएकोमा अहिले कोर ड्रिलिङ र ग्राउटिङसहित काम तीव्र गतिमा अघि बढिरहेको छ।

    त्यसैगरी, प्याकेज २ अन्तर्गत विद्युतगृह र सम्बन्धित संरचनाको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजमा ७६ प्रतिशत प्रगति भएको छ। भूमिगत संरचना खन्ने कार्य सकिएको छ भने अधिकांश सिभिल निर्माण सम्पन्न भइसकेका छन्। विद्युतगृह, केबल सुरुङ, सर्ज ट्याङ्क र टेलरेसको मुख्य कङ्क्रिटिङ कार्य पूरा भइसकेको छ। १४१८.७५ मिटर लामो मुख्य सुरुङमध्ये १४०७.७५ मिटरमा कङ्क्रिट लाइनिङ सम्पन्न भएको छ।

    प्याकेज ३ अन्तर्गत भारतको केइसी इन्टरनेसनल लिमिटेडले दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ। ३३ किलोमिटर लामो यस लाइनको ७७ प्रतिशत काम सकिएको छ। कुल ९४ टावरमध्ये ७८ वटाको जग निर्माण भइसकेको छ। वन क्षेत्रभित्र पर्ने रुख हटाउने कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

    कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक, जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ।

    आयोजनाबाट उत्पादन सुरु भएको पहिलो १० वर्षमा वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। साथै, यस आयोजनाबाट प्राप्त हुने पानीको बहावलाई उपयोग गर्दै तल्लो तटीय क्षेत्रमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको विकास प्रक्रिया पनि अघि बढाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend