२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • बडीगाडखोलामा २३७ मेगावाटको जलाशययुक्त आयोजना तयारी,...

बडीगाडखोलामा २३७ मेगावाटको जलाशययुक्त आयोजना तयारी, स्थानीय उत्साहित

बडीगाडखोलामा २३७ मेगावाटको जलाशययुक्त आयोजना तयारी, स्थानीय उत्साहित

सहर्ष न्युज
शनिवार, बैशाख १९ २०८३
सहर्ष न्युज
शनिवार, बैशाख १९ २०८३
  • रेसुङ्गा (गुल्मी): विद्युत् उत्पादनको ठूलो सम्भावना बोकेको बडीगाडखोलामा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागमार्फत योजना अगाडि बढेपछि स्थानीयवासी उत्साहित बनेका छन्।

    बडीगाडखोलाको पानी उपयोग गरी २३७.२ मेगावाट क्षमताको ‘लोअर बडीगाड जलाशययुक्त जलविद्युत् आयोजना’ प्रस्ताव गरिएको छ। यस आयोजनाबाट गुल्मीका छत्रकोट, गुल्मी दरबार, रुरुक्षेत्र गाउँपालिका, रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिका प्रभावित हुनेछन्।

    आयोजनाअनुसार सत्यवती गाउँपालिका–४ र रुरुक्षेत्र गाउँपालिका–६ को सिमानामा पर्ने लुम्दीखोला र बडीगाडखोलाको संगमभन्दा करिब ७०० मिटर माथि १९५ मिटर अग्लो बाँध निर्माण गरिनेछ। हाइड्रो कन्सल्ट इन्जिनियरिङ काठमाडौँका अनुसार ३.१ किलोमिटर लामो सुरुङमार्गमार्फत रुरुक्षेत्र गाउँपालिका–२ स्थित रुद्रबेनी नजिकै विद्युत्गृह निर्माण गर्ने योजना रहेको छ।

    बडीगाडखोला र कालीगण्डकी नदीको संगमबाट करिब ७५० मिटर तल कालीगण्डकी नदीको दायाँ किनारमा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ। जलाशययुक्त आयोजना भएकाले प्रभावित क्षेत्रमा जमिन डुबानमा पर्ने र विभिन्न संरचना निर्माण गर्नुपर्ने भएकाले हाल मुआब्जा लगत सङ्कलनको काम भइरहेको छ।

    आयोजना निर्माणका लागि करिब सवा एक खर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ भने निर्माण सम्पन्न गर्न पाँच वर्ष लाग्ने अनुमान गरिएको छ।

    हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयारी भइरहेको छ। वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ अनुसार सार्वजनिक सुनुवाइसमेत आयोजना गरिएको छ।

    आयोजना निर्माणपछि प्रभावित क्षेत्रले रोयल्टी प्राप्त गर्ने र समग्र देशको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend