काठमाडौं । सरकारले गरिबलाई सडकमा पुर्याएको आरोप, ‘राज्य आतंकका कारण जनता बेघर’
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको राजीनामा माग गरेका छन्। उनले नैतिकताको आधारमा शाहले तत्काल पदबाट हटेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।
साम्पाङले सरकारको वर्तमान गतिविधिप्रति असन्तुष्टि जनाउँदै गरिब तथा विपन्न वर्गलाई प्रत्यक्ष असर पर्ने गरी निर्णय गरिएको आरोप लगाए। उनका अनुसार यस्ता कदमले सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, “बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकियो।”
उनले थप आरोप लगाउँदै राज्यले दमनकारी शैली अपनाएको र त्यसकै कारण सर्वसाधारण नागरिक बेघर तथा बासविहीन भएको दाबी गरे। उनले भने, “राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।”
साम्पाङले आफूले पहिले दिएको सुझाव बेवास्ता गरिएकै कारण अहिलेको अवस्था सिर्जना भएको समेत उल्लेख गरेका छन्।
