आयभन्दा १ करोड ४६ लाख बढी खर्च, स्रोत नखुलेको भन्दै विशेष अदालतमा अभियोग
काठमाडौं : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध करिब डेढ करोड रुपैयाँ बराबरको भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
अख्तियारले यादवको २०४७ असार ३१ देखि २०८० पुस ९ सम्मको सम्पत्ति छानबिन गर्दा आयको स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार यादवको पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, ऋण, ब्याज, कृषि तथा परिवारजनको आम्दानीसमेत जोड्दा कुल वैधानिक आय तीन करोड ४६ लाख २१ हजार रुपैयाँ रहेको देखिन्छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन, सेयर लगानी, अध्ययन खर्च, ऋण भुक्तानी, विद्युतीय सामग्री तथा अन्य खर्च गरी कुल चार करोड ९३ लाख दुई हजार ६२६ रुपैयाँ ९९ पैसा खर्च भएको पाइएको छ।
यसरी कुल आयभन्दा एक करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च देखिएको र त्यसको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ।
अख्तियारले गैरकानुनी रूपमा आर्जित उक्त सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत राखिएको दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो जफत, बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ।
यादवकी पत्नी निर्मला कुमारीको नाममा रहेको सम्पत्ति समेत जफत गर्न माग गरिएको छ भने उनीहरूमाथि अन्य विषयमा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।
