२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भेटे...

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भेटे अर्थमन्त्री, आर्थिक सुधारको काम सुरु भइसकेको अर्थमन्त्रीको जनाउ

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भेटे अर्थमन्त्री, आर्थिक सुधारको काम सुरु भइसकेको अर्थमन्त्रीको जनाउ

सहर्ष न्युज
मंगलवार, बैशाख १५ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक सुधारका कदम अघि बढाइसकेको बताउनुभएको छ । 

    नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको सोमबारको भेटमा अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गरिसकिएको, करका दर घटाउने योजना रहेको भन्दै अब राजस्व बढ्न, रोजगारी सिर्जना हुन र अर्थतन्त्रको आकार विस्तार हुन आवश्यक रहेको बताउनुभएको हो । 

    उहाँले सरकारले उदार नीति अवलम्बन गर्दै सबैलाई काम गर्न सक्ने वातावरण तयार गर्ने दिशामा अघि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै आगामी बजेट व्यवसायी तथा आमनागरिकलाई हौसला मिल्ने खालको हुने धारणा राख्नुभयो । साथै निजी क्षेत्रबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणमा समेटिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्सले आगामी आव २०८३/८४ को बजेट निर्माणका लागि अर्थमन्त्रीलाई सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वमा सोमबार गएको टोलीले अर्थमन्त्री वाग्लेसमक्ष अर्थतन्त्रलाई गतिशील बनाउने सुझाव पेस गरेको हो ।  

    चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । चेम्बरले कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, ऊर्जा, वैदेशिक लगानी, निर्यात प्रवर्धन तथा कर प्रणाली सुधारलगायतका सबै क्षेत्र समेटेर सुझाव दिएको छ । 

    कृषिक्षेत्रमा आधुनिकीकरण, सहुलियत कर्जा र बजार पहुँच विस्तार, पर्यटन क्षेत्रमा पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवर्धन, उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने र प्रक्रियागत सहजता, सूचना प्रविधिमा कर छुट तथा डिजिटल पूर्वाधार विस्तार, ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्धन तथा जलविद्युत् विकासलाई तीव्रता दिनुपर्ने सुझाव चेम्बरले दिएको छ । त्यस्तै कर प्रणाली सरल बनाउँदै एकद्वार प्रणाली लागु गर्न, निर्यातलाई प्रोत्साहन गर्न र ‘मेड इन नेपाल’ उत्पादनलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिइएको छ । 

    आगामी बजेटमा कृषिलाई उच्च प्राथमिकतामा राखी आधुनिकीकरण एवं यान्त्रिकीकरणका लागि पहल गरिनुपर्ने तथा बाँझो जमिन सदुपयोग नीति लिई कृषि उत्पादन गर्नेलाई लिजको व्यवस्था एवं लगानीका लागि सहजीकरण गरिनुपर्ने चेम्बरको सुझाव छ ।

    यस्तै निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाइनुपर्ने र निर्यात अनुदानलाई एकद्वार प्रणाली अन्तर्गत निकासीकर्तालाई सरल र सहज ढङ्गले प्रदान गरिनुपर्ने सुझावमा उल्लेख छ । 

    वैदेशिक रोजगारीबाट फर्किनेको सिप दक्षता उपयोगको लागि स्वदेशी लगानी प्रोत्साहित गरी वैैदेशिक रोजगारीबाट फर्किनेको सिप र दक्षतासहितको सम्पूर्ण विवरण अध्यागमन विभागमा अभिलेखीकरणको व्यवस्था गरिनुपर्ने सुझाव छन् ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend