काठमाडौं : नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानमा महिलामाथि लक्षित गरी सुनका सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उक्त गिरोहलाई लुटपाटमा प्रयोग हुने विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन्।
प्रहरीका अनुसार चैत १२, चैत १९ र वैशाख ६ गते काठमाडौंका विभिन्न स्थानमा भएका सुन लुटपाटका घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाबाट १२.९० ग्राम सुन, एक थान पेचकस, एक ठूलो रेन्ची, आठ साना रेन्ची, एक मोबाइल फोन, एक खुकुरी तथा हुडी, ट्राउजर र ज्याकेट लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ परेका उक्त गिरोहबारे प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ।
