इलाम । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाली अलैँची निर्यातमा उल्लेख्य वृद्धि भएको छ। झापास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि चैतसम्म १० अर्ब ७० करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
उक्त अवधिमा कुल ५२ लाख ९५ हजार २५० किलो अलैँची विदेशिएको छ। यो परिमाण गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४१.५८ प्रतिशतले बढी हो।
व्यापारीका अनुसार यस वर्ष अलैँचीको मूल्य सिजनभर उच्च र स्थिर रह्यो। सिजनको सुरुवातमा प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य हालसम्म पनि ९६ हजारदेखि एक लाख रुपैयाँको हाराहारीमा कायम छ।
अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसको खेती विस्तारतर्फ आकर्षित भएका छन्। हाल देशका ५४ जिल्लामा अलैँची खेती हुँदै आएको छ भने १४ हजार ३८३.५ हेक्टर जमिनमा यसको खेती फैलिएको अलैँची विकास केन्द्रले जनाएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लाहरू—इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र धनकुटामा अलैँची उत्पादन उच्च रहेको तथ्याङ्कले देखाएको छ।
