सप्तरी : सप्तरीको चन्द्रनहर क्षेत्रमा भएको अतिक्रमण हटाउन सम्बन्धित निकायले प्रक्रिया अघि बढाएको छ। कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयले अतिक्रमित जग्गा खाली गराउने तयारी तीव्र बनाएको हो।
सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्रनहर हेडबाँधमा सरोकारवालाहरूबीच बसेको बैठकले अतिक्रमण हटाउने विषयमा विस्तृत छलफल गरेको थियो । बैठकको निर्णयअनुसार पहिलो चरणमा नहरको डिलभित्र पर्ने १२६ वटा घरटहरा भत्काइनेछ।
यसअघि कार्यालयले गत चैत १६ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आह्वान गरेको थियो। तर, तोकिएको समयसीमाभित्र अतिक्रमण नहटेपछि थप कदमका लागि सरोकारवालासहित बैठक बोलाइएको हो।
राज्यको शासकीय सुधार योजना अन्तर्गत अतिक्रमित संरचना हटाउने तयारीका लागि गरिएको बैठकमा प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नगरप्रमुख कृष्ण ढकाल तथा चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा अतिक्रमित संरचना हटाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिने, बास्तविक सुकुम्बासी पहिचान गरी उनीहरुलाई बसोवासका लागि उपयुक्त विकल्प दिने बारेमा छलफल भएको थियो ।
सरोकारवाला निकायका प्रमुखहरुको समन्वय गर्दै अतिक्रमित घर टहराको तथ्यांक एकिन गर्न कर्मचारी खटाइएको पनि कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए ।
कार्यालयका प्रमुख यादवका अनुसार नहर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूमध्ये वास्तविक सुकुमवासीको पहिचान गरिनेछ । बास्तविक सुकुम्वासीहरूलाई बसोवासका लागि व्यवस्थापन स्थानीय निकायले गर्नेछ । त्यसका लागि १५ दिनभित्र वैकल्पिक उपयुक्त जग्गा छनोट गर्ने जिम्मेवारी नगरपालिका गरिरहेको बुझिएको छ ।
