काठमाडौं: सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवाल विरुद्ध अनुसन्धानका लागि थप सात दिन म्याद थप गरिएको छ।
काठमाडौं जिल्ला अदालत का न्यायाधीश तिलकबहादुर कार्की को इजलासले बुधबार अग्रवालविरुद्ध म्याद थप गर्ने आदेश दिएको हो। अग्रवालसँगै व्यवसायी दीपक भट्ट माथि पनि अनुसन्धान गर्न थप सात दिनको समय दिइएको छ। भट्टलाई पनि सम्पत्ति शुद्धीकरण कसुरमा २०८२ चैत १९ गते पक्राउ गरिएको थियो।
सम्पत्ति शुद्धीकरण विभाग ले शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्स का अध्यक्ष अग्रवाललाई चैत २२ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानकै क्रममा अग्रवालका पिता तथा शंकर ग्रुप का अध्यक्ष शंकरलाल अग्रवाललाई पनि काठमाडौंबाट नियन्त्रणमा लिइएको थियो। उनी भने पछि हाजिरी जमानीमा रिहा भएका छन्।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको भोलिपल्टै सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो।
करोडौं रुपैयाँको शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंक ले करिब साढे दुई वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो। त्यसपछि विभागले २०७९ पुसमा भट्टसँग प्रारम्भिक बयान लिएको थियो।
यद्यपि प्रारम्भिक छानबिनपछि विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरेको थियो। पछि वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पुरानो फाइल पुनः खोलेर अनुसन्धान अघि बढाइएको हो।
