काठमाडौँ : नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै एक खर्ब रुपैयाँभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैतसम्मको अवधिमा कुल १ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ बराबरको प्रशोधित तेल विदेश पठाइएको हो।
निर्यातमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको रहेको छ। यस अवधिमा मात्रै ९० अर्ब ७१ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको ६२ अर्ब ७८ करोड रुपैयाँको तुलनामा करिब २८ अर्ब रुपैयाँले बढी हो।
त्यसैगरी, ६ अर्ब ९४ करोड रुपैयाँको सूर्यमुखी तेल र ५ अर्ब ९ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ। यी तीनै प्रकारका तेल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा अग्रस्थानमा रहेका छन्।
यद्यपि, नेपालबाट निर्यात हुने यी तेलहरू स्वदेशमै उत्पादन भएका भने होइनन्। विभिन्न देशबाट कच्चा तेल आयात गरेर नेपालमा प्रशोधन गरी मुख्यतः भारतमा निर्यात गर्ने गरिएको छ। भारतले कच्चा तेलमा ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने भए पनि नेपालले साफ्टा सुविधा अन्तर्गत शून्य भन्सारमा निर्यात गर्न पाउने भएकाले उद्योगीहरूले यसलाई व्यापारिक अवसरका रूपमा उपयोग गरेका छन्।
तर, प्रशोधित तेलको निर्यात बढे पनि कच्चा पदार्थको आयात अझै बढी देखिएको छ। चैतसम्म नेपालले ९६ अर्ब ७२ करोड रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ, जुन प्रशोधित तेल निर्यातभन्दा करिब ६ अर्ब रुपैयाँ बढी हो। त्यस्तै, १४ अर्ब ५९ करोड रुपैयाँको कच्चा सूर्यमुखी तेल र ९ अर्ब ६१ करोड रुपैयाँको पाम तेल आयात भएको छ। समग्रमा कच्चा तेल आयात १ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ, जुन निर्यातभन्दा करिब १८ अर्ब रुपैयाँले बढी हो।
समग्र वैदेशिक व्यापारतर्फ हेर्दा चैतसम्म नेपालले कुल १४ खर्ब ९० अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले बढी हो। निर्यात भने १८.४६ प्रतिशतले वृद्धि भएर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। तर आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
प्रशोधित तेल निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयात–निर्यात असन्तुलनले नेपालको व्यापार घाटा अझै चिन्ताजनक अवस्थामा रहेको देखिएको छ।
