२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए...

कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए पनि त्यो परिमाणमा पानीको मूल्यवृद्धि नहुने

कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए पनि त्यो परिमाणमा पानीको मूल्यवृद्धि नहुने

सहर्ष न्युज
मंगलवार, बैशाख ८ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौँ : नेपाल पानी उद्योग महासङ्घले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढे पनि खानेपानीको खुद्रा मूल्य नबढ्ने स्पष्ट पारेको छ। बजारमा पानीको मूल्य बढ्ने हल्ला फैलिएको भन्दै महासङ्घले यस्तो स्पष्टिकरण दिएको हो।

    महासङ्घका अध्यक्ष विक्रम लिम्बू चेमजोङका अनुसार उद्योगीहरूले पानीको मूल्य बढाउने नभई उत्पादनमा प्रयोग हुने अन्य सामग्रीको मूल्य समायोजन गर्नुपर्ने माग मात्र गरेका हुन्। “पानीको मूल्य अहिले पनि प्रतिलिटर २० रुपैयाँ नै रहनेछ,” उनले बताए।

    उनका अनुसार बजारमा प्रतिबोतल पानीको मूल्य १६ रुपैयाँबाट २० रुपैयाँसम्म र प्रतिजार ४७ रुपैयाँबाट ५५ रुपैयाँसम्म उपभोक्ता मूल्य कायम हुन सक्ने अनुमान गरिएको छ। तर यो पानीको मूल्यवृद्धि नभई उत्पादन तथा आपूर्तिसँग सम्बन्धित अन्य लागतको समायोजन भएको उनले स्पष्ट पारे।

    उद्योगीहरूका अनुसार पश्चिम एसियामा जारी तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्यापलगायत कच्चा पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको छ। साथै, पछिल्ला तीन महिनादेखि कच्चा पदार्थ आयातका लागि आवश्यक प्रतीतपत्र (एलसी) नखुलेको र मौज्दात पनि न्यून हुँदा उत्पादनमा दबाब परेको छ।

    महासङ्घले गत चैत ९ मा नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पानीको मूल्य समायोजनका लागि प्रस्ताव पेश गरेको थियो। प्रस्तावअनुसार काठमाडौँ उपत्यकाभित्र प्रतिबोतल पानी २० रुपैयाँ र बाहिर २५ रुपैयाँ तथा प्रतिजार ६० रुपैयाँ र बाहिर ८० रुपैयाँ कायम गर्न आग्रह गरिएको थियो।

    हाल काठमाडौँ उपत्यकामा दैनिक करिब तीन लाख ५० हजार जार र ४० हजार कार्टोन बोतल पानीको माग रहेको छ। तर आवश्यक कच्चा पदार्थको अभावका कारण जारको बिर्को र सिल उत्पादनमा समस्या देखिँदा आपूर्ति प्रणाली प्रभावित भएको महासङ्घले जनाएको छ।

    देशभर करिब ६ सय पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमध्ये उपत्यकामा मात्रै २ सय उद्योग छन्। यहाँ ३० वटा बोतल पानी उत्पादन गर्ने र करिब १७० वटा २० लिटर जार उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। यी उद्योगमार्फत ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने कुल लगानी १६ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend